सेञ्चुरी बैंक घोटाला प्रकरणः पूर्वमन्त्री उमेश श्रेष्ठ समेत तानिन सक्ने


 


काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकको दुई अर्ब ११ करोड कर्जा हिनामिना प्रकरणको अनुसन्धानमा सञ्चालकलाई जोगाउने प्रयास गरेपछि प्रहरी विवादमा परेको छ ।

सञ्चालकलाई उन्मुक्ति दिएर बैंकका कर्मचारीलाई मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा सेटिङ भएको आरोप लाग्दै आएको छ ।

सिआइबीले अनुसन्धान सकाएर विशेष सरकारी वकिल कार्यालयमा मिसिल पठाइसकेको छ । जसमा कर्मचारीलाई मात्र मुद्दा चलाउनुपर्ने उल्लेख छ । अन्तिम निर्णय सरकारी वकिलको हुन्छ ।

सञ्चालकलाई जोगाउन सरकारी वकिललाई पनि महान्यायधिवक्ता रमेश बडालमार्फत नै दबाब दिइएको स्रोत वताउँछ ।

सञ्चालककै संलग्नता देखिएको भन्दै सिआइबीले तत्कालीन सञ्चालकलाई नै पक्राउ नै गरेर अनुसन्धानमा तानेको थियो ।

तारेखमा छुटेका ती सञ्चालकहरूलाई मुद्दा नचलाउन गृहमन्त्री रमेश लेखकले नै सिआइबीलाई दबाब दिएका थिए । यसका लागि सञ्चालकहरुले सिआइबीमा समेत सेटिङ मिलाएका छन् ।

गत २७ जेठमा सिआइबीले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र कर्मचारी शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो ।

पक्राउ परेको एक सातामै तारेखमा छुटेका उनीहरू अहिले गृह प्रशासनलाई आफ्नो हातमा लिएर उन्मुक्तिको प्रयासमा छन् । राजेशकुमार कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन् ।

जसकारण उमेशले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत सो मुद्दा मिलाउन गृहमन्त्री लेखकलाई दबाब दिएका थिए ।

स्रोतका अनुसार यो प्रकरणमा विस्तृत अनुसन्धान हुन सके उमेश पनि तानिने सम्भावना छ । उनी देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईका व्यापारीक पाटर्नर हुन् ।

उनीहरुले सँगै कतिपय जग्गामा लगानी गरेका छन् । उमेशमार्फत नै राजेशसँग सेटिङ मिलाएर चौलागाईले करिब एक अर्बको धितोमा दुई अर्ब कर्जा लिएका थिए।

डेढ अर्ब कर्जाको त सञ्चालक समितिबाटै स्वीकृत गरिएको छ। कर्जा प्रवाहमै ठूलो कमिसनको चलखेल भएको थियो ।

देउराली सहकारी डुबेसँगै बैंकको कर्जा समेत डुबेको छ । हाल सेञ्चुरी प्रभु बैंकमा मर्ज भएको छ । कर्जा लिने चौलागाई जेलमा छन् । प्रभु प्रभु बैंककै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

तर, फागुनमा मात्र अनुसन्धान सुरु भयो । गत १५ फागुनमा सिआइबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ गरेको थियो ।

दबाबकै भरमा त्यतीबेला उनीहरू छुटेका थिए । पछि रवि लामिछाने गृहमन्त्री हुँदा सञ्चालक नै पक्राउ परेकोमा अहिले पहुँचवाला सबैलाई जोगाउने चलखेल अघि बढेको हो । यसमा ठूलो आर्थिक चलखेल भइरहेको स्रोत बताउँछ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्