दुई नाबालिग छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ


 


काठमाडौं, भदौ १९ । दुई छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले आमा अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको हो । अस्वस्थ अवस्थामा भेटिएकी आमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनले दुई छोरीलाई विष खुवाएर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । पहिला आफूले विष खाएको र त्यसपछि छोरीहरूलाई खुवाएको बयान उनले दिएकी छन् ।

श्रीमान् अर्जुन र अस्मिता सुन्दरहरैँचा–७ मा भाडाको घरमा बस्दै आएका थिए । श्रीमान् अर्जुनसँग विवाद भएपछि अस्मिताले नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर हिँडेकी थिइन्।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ । अस्मिताले श्रीमानलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्