२०८४ को निर्वाचनमा एमालेले अन्य दलसँग गठबन्धन गर्दैन : प्रधानमन्त्री ओली


 


काठमाडौँ १८ भदाै। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आजदेखी सुरु भएको नेकपा एमालेको तेस्रो पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने तर निर्वाचनको परिणामका आधारमा अन्य दलहरू सँग तालमेल गर्न सकिने बताउनुभयो ।

अध्यक्ष ओलीले त्यस अवसरमा मिसन ०८४ को तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिन थालेको, पुँजी बजार बढेको र जनतामा सकारात्मक सन्देश प्रवाह हुँदै आएको उल्लेख गर्नुहुँदै अब सरकारको ध्यान समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

पोलिटब्युरो बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले समाजमा अराजकता फैलाउने कामहरू पनि भइरहेकाले त्यस प्रति सजग रहँदै समृद्ध नेपालको निर्माणलाई मूल मन्त्रका रुपमा लिएर सबै लाग्नुपर्ने खाँचो पनि औँल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि राजनीतिले स्थिरता र  स्थायित्व पाएको, निजी क्षेत्रले पनि विश्वास गरेको र बाह्य लगानी समेत बढेको बताउनुभयो ।

पोलिटब्युरो बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गर्नुभएको र त्यस कार्ययोजनामा भोलीदेखि छलफल गरिने नेकपा एमालेले जनाएको छ ।

पार्टी उपमहासचिव ज्ञवालीले पार्टीको सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका साथै नेता कार्यकर्ता हरुको आचरणमा अझ बढी शुद्धता ल्याउने लगायतका १८ वटा बुँदा कार्ययोजनामा समावेश गरिएको बताउनुभयो ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्