सहकारी छानविन विशेष समितिको कार्यावधि १५ दिन थप
काठमाडौँ १८ भदाै। प्रतिनिधि सभाको आजको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्यावधि थप गरेको छ ।
बैठकमा छानविन समितिका सभापति सूर्यबहादुर थापाले पेश गर्नुभएको सहकारी छानविन विशेष समितिको कार्यावधि १५ दिन थप गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
सहकारीको रकम हिनामिनासम्बन्धी छानविन गर्न संसदले २०८१ जेठ १५ गते गठन गरेको ७ सदस्यीय विशेष छानविन समितिको म्याद भदौ २२ गते सकिँदै थियो ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र सार्वजनिक सेवा प्रसारण विधेयकसम्बन्धी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन २०८१ पेश भएको छ ।
यस्तै बैठकमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित भएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २४ गते सोमबार दिनको १ बजे बस्नेछ ।
प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार