पर्सामा खानेपानीको बक्यौता रकम १२ करोड बढी
वीरगञ्ज १८ भदौ । वीरगञ्जमा सरकारी कार्यालय तथा निजी ग्राहकहरूले खानेपानी महसुल नतिर्दा बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।
सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ ।
बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु ३ करोड ९८ लाख ९७ हजार ७ सय ४८ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरे वापतको तिर्नुपर्ने बक्यौता रकम रु ८ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।
खानेपानी संस्थान वीरगञ्जका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताउनुभयो ।
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता रु १ करोड ८४ लाख ७८ हजार ९ सय ७० छ ।
वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता रु १ करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको रु ४९ लाख ६१ हजार चार सय १७ छ । जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता रु ३५ लाख १० हजार चार सय ४७ छ ।
कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताउनुभयो । कार्यालयका अनुसार आव २०८०र८१ मा खानेपानी कार्यालय वीरगन्जले ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान गरेको श्रेष्ठले बताउनुभयो ।
कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।
प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार