सचिव सरुवाको तयारी : गृहसचिवका लागि टक्कर


 


काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृहमा सचिव पद रिक्त छ ।

गृह सचिव बन्न आधा दर्जन सचिवहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

सचिवहरु कृष्णहरी पुष्कर, विनोद प्रकाश सिंह, हरि कुमार मैनाली, नारायण शर्मा दुवाडी, अर्जुन पोखरेल लगायत गृहसचिवका आकांक्षी छन् ।

उनीहरुमध्ये पुष्कर र सिंहको सम्भावना प्रबल रहेको बताइन्छ । दुवै जना कांग्रेस नेतृ आरजु देउवाका विश्वासपात्र हुन् ।

गृहसचिवमा हालका गृहमन्त्री रमेश लेखकभन्दा आरजु नै हाबी हुने सम्भावना छ ।

यसअघि आरजुले नै विनोद सिंहलाई गृहसचिव बनाएकी थिइन् । गृहका आफ्ना सबै कामहरु सचिवमार्फत नै गराउन आरजुको टिमले आफु अनुकुल सचिव लैजान लागेको हो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अनुकुल सचिव गृहमा पठाउन खोजेका छन् । त्यो अवस्थामा कृष्णहरी पुष्करले बाजी मार्न सक्ने सम्भावना समेत रहेको बताइन्छ ।

हरि मैनाली पनि गृहको क्याडर भएको र कांग्रेस नेताहरुसँग राम्रो सम्बन्ध भएकाले उनीपछि दौडधुपमा लागेका छन् ।

प्रदेशमा कार्यरत केही प्रमुख सचिवको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ ।

राष्ट्रिय योजना आयोगका सचिव डा.तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि सचिव पद रिक्त छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवाको निर्णेय गर्नेछ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्