बाँकेमा झाडा पखालाबाट एकैदिन चार जनाको मृत्यु


 


बाँके, भदौ १७ । बाँकेको नरैनापुरमा झाडा पखालाबाट चार जनाको मृत्यु भएको छ ।

बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर ३ मा आइतबार चार जनाको मृत्यु भएको हो ।

गाउँमा झाडापखालाबाट चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले पुष्टि गरिन् । उनका अनुसार सो गाउँमा झाडापखालाबाट १२ जना बिरामी छन् ।

नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। नरैनापुर– ३ को गेगली गाउँमा झाडापखाला फैलिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेले भने झाडा पखालाबाट गाउँलेको मृत्यु भएको विषयमा कुनै जानकारी नआएको जनाएको छ ।

झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन लाल पासीकी श्रीमती ६० वर्षीया शान्ति र सखावत अलिका १० वर्षका छोरा युसुफको मृत्यु भएको हो ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्