सर्लाहीमा नक्कली नोट बनाउने गिरोह पक्राउ


 


सर्लाही, भदौ १७ । सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सो ठाउँबाट दुई जना भारतीय र ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् ।

यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस्तै ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई सामानसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्