सकियो नाडा अटो सो, ६ हजार गाडी बुकिङ


 


काठमाडौँ, भदौ १७ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन ‘नाडा अटो सो २०२४’ सम्पन्न भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको उक्त कार्यक्रम ६ दिन दिनसम्म सञ्चालन भएर सम्पन्न भएको हो ।

अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । अटो सोमा उत्साहपूर्ण सहभागिता रहेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले बताए । उनका अनुसार अटो सोमा अनुमानित १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै ४ हजार थान चारपांग्रे र २ हजार थान दुईपांग्रे सवारी बुकिङ भएको अनुमान गरिएको संयोजक बरालले बताए ।

यसपालिको अटो सोमा विद्युतीय र पेट्रोल तथा डिजेल गाडी दुवैमा दर्शकको राम्रो आकर्षण देखिएको आयोजकले बताएको छ ।

अटो सोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नेदेखि लिएर उत्पादन (प्रोडक्ट) हरूमा छुट अफरसमेत ल्याएका थिए ।

अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायत गरी १ सय ३० वटा स्टल राखिएका थिए, जसमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे, १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल थिए ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्