सामूहिक बलात्कार आरोपमा २ कर्मचारी सहित ३ जना पक्राउ


 


बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिए ।

घटना गत भदौ ५ गतेकै भएपनि शनिवार मात्रै प्रहरीमा उजुरी आएसँगै पक्राउ गरिएको राठोरले जानकारी दिए । उनले पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत लैजाँदै गरेको रातोपाटीलाई जानकारी दिए ।

‘आज म्याद थपपछि अन्य अनुसन्धान अगाडि बढाउने छौँ’, उनले भने । पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

उनीहरूले पीडितलाई रोजगारीको तालिम दिने भन्दै एक होटेलमा बोलाएर सामूहिक करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्