कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध


 


काठमाडौं, भदौ १६ । कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ ।

गत बुधबार राति आएको अविरल वर्षापछि विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीरलगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एसपी विनोद शर्माका अनुसार राजमार्ग बन्द हुँदा पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । उनले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइए पनि अझै दुई तीन दिन लाग्ने बताए ।

सडक डिभिजन कार्यालय जुम्लाले जतिसक्दो छिटो क्षतिग्रस्त बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा जुटेको जनाएको छ । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्जका लागि स्याउ बोकेका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिने अवस्थामा पुगेका व्यापारीको भनाइ छ ।

२ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्