बुटवलमा ६ अर्ब १८ करोड लागतमा निर्माण हुने अस्पताल भवनको शिलान्यास
बुटवल १५ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा निगरानी बढाउन आग्रह गरेका छन्।
शनिबार बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पतालमा भवनको शिलान्यास गर्दै उनले कामको गुणस्तरमा विशेष ध्यान दिँदै निगरानी बढाउन सबैमा आग्रह गरेका हुन्।
धेरै वर्षपछि सम्मका लागि ध्यान दिएर बुटवलमा १२ सय शय्याको अस्पतालको विकासका लागि जुटेको पनि उनले बताए। प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको अस्पतालको विकासका लागि अब बन्ने भवन महत्त्वपूर्ण रहेकाले सरोकारवालाहरूले विशेष ध्यान दिएर समयमै गुणस्तरीय कामका साथ सम्पन्न गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए। त्यस्तै, उनले भवन निर्माणसँगै जनशक्ति तथा उपकरणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।
रुपन्देहीको विकासका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको नमुनाका रूपमा हरेक क्षेत्रको विकासमा लागि पर्ने बताए। रुपन्देहीको विकाससँग जोडिएका महत्त्वपूर्ण सडक आयोजनादेखि सिद्धबाबा सुरुङमार्गको कामका बारेमा चर्चा गर्दै उपप्रधानमन्त्री पौडेलले कामको गुणस्तरमा जोड दिएका हुन्।
रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन विभिन्न महत्त्वपूर्ण योजनाहरू अगाडि बढेको चर्चा गर्दै उनले थप के(के गर्नुपर्छ भन्नेमा सुझाव दिन अनुरोध गर्दै विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठेर अगाडि बढ्ने बताए। यहाँको विकासका लागि कामको वर्गीकरण गरेर सबै लाग्नुपर्नेमा जोड दिँदै विकासमा नागरिक निगरानी बढाउनुपर्ने बताए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको भन्दै यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक अर्ब ८० करोडको बजेट विनियोजन गरेको बताए।
प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार