संस्कार र नैतिकता सिकाउन स्थानीय पाठ्यक्रम


 


नेपालगन्ज, १४ भदौ  बालबालिकालाई सानै उमेरदेखि संस्कार र नैतिकता सिकाउन बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन सुरु गराएको छ। 

यसले शिक्षक र विद्यार्थीबिच आपसी माया र सम्मानको भावना अभिवृद्धिसँगै पालिकाभित्रका हरेक व्यक्तिलाई नैतिकवान् तुल्याउन सहयोग पुग्ने आशा गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो। 

उहाँले स्कुलमा संस्कार र नैतिक शिक्षाबारे पढाउन र सिकाउन थालिएपछि बालबालिका अनुशासित हुँदै गएको र परिवारका अन्य सदस्यको व्यवहारमा समेत परिवर्तन देखिएको बताउनुभयो। 

अध्यक्ष चौधरीका अनुसार विद्यालयमा नैतिक शिक्षा सुरु गरिएपछि शिक्षकले विद्यार्थीलाई माया गर्नुका साथै विद्यार्थीले शिक्षकलाई आदर, सम्मान गरिरहेका छन्। विद्यालयदेखि गाउँघरसम्मै एकले अर्कालाई आदर गर्ने परम्परा विकसित हुँदै गएकोले यो गाउँपालिकाले नैतिक तथा सांस्कारिक शिक्षा दिइरहेको उहाँको दाबी छ। 

गाउँपालिकाले सुरु गरेको नैतिक शिक्षाको प्रभाव घर परिवारमा पनि पर्न थालेको डुडुवा गाउँपालिकाका स्थानीय राकेशकुमार मिश्रले बताउनुभयो। उहाँले संस्कार र नैतिकताको अभाव देखिन थालेपछि गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन गराउन थालेकोमा निकै राम्रो काम गरेको बताउनुभयो। 

नैतिक शिक्षा र संस्कार पढाउन गाउँपालिकाले शिक्षक तथा अभिभावकको पनि सहयोग पाएको छ। डुडुवा गाउँपालिका भारतीय सिमानासँग जोडिएको सीमावर्ती पालिका हो। त्यसैले पनि यो पालिकाले नैतिक शिक्षासँगै विद्यार्थीमा राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावना जगाउने नीति अवलम्बन गरेको पालिकाका अध्यक्ष चौधरीले बताउनुभयो। 

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्