यही सरकारबाट स्थिरता सम्भव छ : उपप्रधानमन्त्री पौडेल


 


रुपन्देही १४ भदाै। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सरकार अहिलेको संसद्मा सबैभन्दा बलियो सरकार भएको बताउनुभएको छ ।

रुपन्देहीमा नेपाली उद्यमी मञ्चको सातौँ राष्ट्रिय नेतृत्वसीप सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले यही सरकारबाट नै स्थिरता सम्भव रहेको बताउनुभयो ।

“पछिल्लो निर्वाचनबाट अहिलेको संसद्मा रहेको सबै खालका गठबन्धनको अभ्यास गरेर असफल भएपछि कांग्रेस एमालेको सरकार बनेको हो, अहिलेको संसद्मा योभन्दा बलियो सरकार बन्न सक्दैन”, उहाँले भन्नुभयो, “सबै प्रयोगबाट असफलको शिक्षा लिएर यो सरकार बनेको हो, यसैबाट स्थिरता सम्भव छ, नीतिको स्थिरता दिन खोजेको छ । ”

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकाङ्क सकारात्मक नभएकाले सरकार दबाबमा रहेको उल्लेख गर्नुहुँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको बताउनुभयो ।

“बाहिरबाट हेर्दा रेमिटेन्स आएको छ ती सूचक ठिकै होला तर उत्पादन घट्दै छ, आयात निर्यात घटिरहेको छ, सबै क्षेत्रमा उत्पादन घटेको छ, माघ घटेको छ” अर्थमन्त्री पौडेलले भन्नुभयो– “अधिकांश उद्योग नै ४० प्रतिशतको क्षमताभन्दा बढी चल्न सकेका छैनन् । यस्तो गम्भीर अवस्था छ । उत्पादन घटेपछि रोजगारमा प्रभाव परेको छ, युवा जनशक्तिलाई कहाँ व्यवस्थापन गर्ने चिन्ता छ ।”

अर्थमन्त्री पौडेलले देशको आर्थिक अवस्थाको चित्रण गर्दै अहिले सार्वजनिक ऋण २४ खर्बभन्दा बढी रहेको र यो बढ्दै गएका कारण अब कस्तो ऋण लिने भन्ने चिन्ता बढाएको बताउनुभयो । “अब उत्पादन दिने, रोजगारी दिने ऋण मात्र लिने योजनामा छौँ, हामी ऋणको पासोमा परेको होइन तर त्यसको प्रभाव रोक्न जरुरी छ भन्ने प्रष्ट देखिएको छ”, उहाँले भन्नुभयो ।

“राजश्वले साधारण खर्च धान्न समस्या पर्दै गइरहेको छ । ३० प्रतिशत बढाउन सके मात्रै राजश्व लक्ष्य पूरा हुन्छ, व्यवसायीलाई दुःख दिने काम हुँदैन, गैरकानुनी कामलाई प्रोत्साहन नदिने हो”, उहाँले भन्नुभयो । तर यस्तो अवस्थामा पनि ती निराशालाई हटाउने गरी निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

“के यस्तो अवस्थामा कसरी बनाउने त देश ? राणा शाही समाप्त गरियो, जसको बोली कानुन थियो, पञ्चायती, राजतन्त्र, बहुदलीय शासन सबै हटाएर नयाँ गणतान्त्रिक संविधान बनेको हो तर सबै अधिकार प्रयोग भएका छैनन् । त्यसैले अब ती अधिकार प्रयोग गराउने गरी निजी क्षेत्रको साथ चाहियो”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले अहिलेको माग अनुसारका योजना अगाडि बढाउनु नै महत्वपूर्ण रहेको, युवा पुस्ताले देशलाई कसरी सोचेको छ, नेतृत्वबाट के आशा र अपेक्षा गरेको छ भन्ने विषयमा सरकारले निरन्तर चासो राखिरहेको बताउँदै राष्ट्रिय उत्पादनमा भइरहेको योगदानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले अब व्यवस्था परिवर्तन मात्रै होइन हामी अवस्था परिवर्तन गर्न पनि तयार छौँ भन्ने सन्देश युवापुस्ताले दिनुपर्ने बताउँदै नेपालमा जति सम्भावना अरू देशमा नभएको दाबी गर्नुभयो ।

“उता काम गर्न केही प्रणाली भएकाले सहज होला तर यहाँ धेरै क्षेत्रमा सम्भावना छन्, देशभित्र बसेर केही गर्न सक्छौ भनेर उत्पादनमा रोजगारीमा सृजनामा लाग्नुपर्दछ”, उहाँले भन्नुभयो– “अर्थतन्त्रका समस्या चिन्ने र समाधान गर्ने, रोजगारीका समस्या सृजना गर्ने, उत्पादनमा ध्यान दिने सामर्थ्य खर्च गर्ने योजना रहेको सरकार छ । सरकारको सोँच र तपाईँहरूको चाहना मिलेको छ । एउटै लयमा छौँ । आउनुस् हातेमालो गरेर अगाडि बढौँ ।”

युवा उद्यमीलाई सान्त्वना दिँदै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो– “युवाले आफूले रोजेको काममा आएका समस्या अहिलेको सरकारले सुन्नेछ, सुन्ने मात्र होइन समाधान खोज्ने सरकार छ, सँगै बसेर छलफल गरौँ, अवस्था अनुकूलको लगानी बढाउनुहोस्, यात्राको क्रममा समस्या आए सरकारको साथ खोज्नुहोस् ।”

अर्थमन्त्री पौडेलले उद्यमी र सरकारबीचको सम्बन्ध बलियो हुनुपर्ने बताउँदै निर्णय प्रक्रियामा नै निजी क्षेत्रलाई सहभागिता बनाउने गरी अगाडि बढ्ने र अब माग्ने र दिने होइन एकै टेबलमा बसेर समाधान गर्ने गरी सहकार्य गर्ने जनाउनुभयो ।

नेपाली उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष रिषव ओझाले देशैभरीका उद्यमीको समस्याका विषयमा सरकारले सोच्नुपर्ने र देशमै केही गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्