लागुऔषधका कैदीले भरियो कैलाली कारागार !


 


कैलाली । कैलाली लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार हुने गरेकाले कैलाली ‘हटस्पट’ का रुपमा चिनिन थालेको हो ।

सोही मुद्धा सम्बन्धिका कैदीले कैलाली जिल्ला कारागार भरिएको छ । जिल्ला कारागारमा ५५६ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषध मुद्धाका रहेका छन् ।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए। जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ ।

१०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा रहेका छन्। थप ३७ जना थुनुवा रहेका छन् ।

कैलाली जिल्ला कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक गरेर ५५६ जना रहेका छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्