बाँके बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो


 


नेपालगन्ज, १३ भदौ । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले बताउनुभयो ।

यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । उहाँले भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको बताउनुभयो ।

घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा उहाँ सामान्य घाइते भएकोले डिस्चार्ज भइसक्नुभएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्