एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि


 


काठमाडौँ, माघ १६

नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन ।

आज सहिद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगीका साथमा सहभागी हुनुभएको हो । सो अवसरमा उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गर्नुभयो ।

नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुनुहुन्छ । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो ।

अझैपनि पूर्णरुपमा निको भई नसक्नुभएका नेता आचार्यले आफूलाई जीवनदान दिने गङ्गालालको उपचार सेवाप्रति कृतज्ञ भएको भन्दै अस्पतालले सङ्ख्यात्मक वृद्विलाई मात्र सफलता नठानेर बिरामी र उसका आफन्तलाई सन्तुष्ट बनाउन सकेमा मात्र सफल हुने बताउनुभयो ।

मुटुरोगको उपचारमा गङ्गालालको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले गुणस्तरीय र बिरामीमैत्री सेवा दिन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्