एमाले सांसद बाँस्कोटाले भने – ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउन रोक्ने प्रचण्ड नै हुन्


 


काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विद्युत प्राधिकरणको २२ अर्ब बेरुजु उठाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले यस्तो आरोप लगाएका हुन् ।

सांसद बाँस्कोटाले सार्वजनिक लेखा समितिका सबै सदस्यहरू २२ अर्ब बेरूजु उठ्नुपर्नेमा एकमत रहेकामा प्रधानमन्त्री हुँदा प्रचण्डले दुइटा पत्र लेखेर ‘उठाउनपर्दैन’ भनेको बताए।

सांसद बाँस्कोटाले भने, ‘यो रोक्ने प्रचण्ड हो। उहाँले जवाफ दिनुपर्छ। उहाँलाई हामी स्पष्टीकरण सोध्छौं। संसदले सोध्नुपर्छ। समितिले पनि त्यही सोध्न चाहेको हो। नतिरे पनि हुन्छ भनेर त्यो दुइटा पत्र किन लेखेको?’

उनले तत्कालीन प्रचण्ड सरकारले नै व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन विद्युत् उपयोग गरेबापतको बक्यौता घटाउने काम गरेको दाबी गरे।

डेडिकेटेड र ट्रंकलाइनका विषयमा आफूले बदमासी गरेर अर्कोमाथि हिलो छ्याप्ने काम भएको उनले बताए।

सांसद बाँस्कोटाले माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ र किन रहेछ भन्ने कुरा पनि प्रष्ट भएको बताए।

लेखा समितिले हुँदैन भने शक्तिशाली छानबिन समिति गठन गर्नुपर्ने बाँस्कोटाले बताए।

सांसद बाँस्कोटाले पटक-पटक प्रधानमन्त्री हुने तर त्यसबीचमा भएका कुराहरुको जवाफदेहिता प्रचण्डमा नरहेको बताए।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्