नेपाललाई हराउँदै बङ्गलादेश बन्याे साफ यू–२० फुटबलकाे च्याम्पियन


 


काठमाडौँ, १२ भदौ  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । 

एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक/एक गोल गरे । नेपालका लागि समीर तामाङले एक सान्त्वना गोल फर्काए । खेलभर बङ्गलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा उपाधि चुम्ने सपना पूरा भएन ।

नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो । नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो । च्याम्पियनसिपमा साफमा आबद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्