भूमाफिया र मालपोत अधिकृतको सेटिङ : हनुमन्ते खोलाको ७ रोपनी बगर दर्ता गर्न चलखेल


 


काठमाडौं । भूमाफियाको गिरोहले काठमाडौं उपत्यकाका नदी र खोलाको बगर समेत दर्ता गरी बिक्रीबितरण गर्ने क्रम रोकिन सकेको छैन ।

विगतमा बागमती, बिष्णुमति धोवीखोला, रुद्रमती, कर्मनाशा, हनुमन्ते नदी र खोलाका बगर दर्ता गरी घर बनाउँदा बर्षायाममा बाढीले ठूलो क्षति पुर्याउँदैआएको छ ।

यसैक्रममा भक्तपुरको हनुमन्ते खोलाको बगर दर्ता गर्ने भूमाफियाको गिरोह सक्रिय भएको छ । साविक दिब्यश्वरी बालकोटको वडा नम्बर ३ र हाल सूर्यबिनायक नगरपालिका वडा नम्बर १५ मा पर्ने को हनुमन्ते खोलाको बगर दर्ता गर्न भूमाफियाको समूह लागेको छ ।

मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत यदु आचार्य र भूमाफिया मणि भण्डारीको मिलेमतोमा साविक दिब्यश्वरी बालकोट वडा नम्बर ३ र हाल सूर्यबिनायक नगरपालिका १५ को हनुमन्ते खोलाको बगरको कित्ता नं. १५२३ र २ मध्ये १२ बर्गमिटर र ३५६०.५० र बर्गमिटर (झन्डै ७ रोपनी) सरकारी जग्गा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको समाचार स्रोतले बताएको छ ।

नदीको बगर स्वतः सरकारी जग्गा हो । नदीले धार परिवर्तन गर्दा बनेको बगरको जग्गा सरकारी भएकाले ब्यक्तिको दर्ता गर्नु गैरकानुनी हो । तर २०५५ देखि नदीले धार परिवर्तन गर्दा खाली भएका बगरका जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने होडबाजी चल्दैआएको छ ।

भर्खरै केही दिनअघि हनुमन्ते खोलामा बाढी आउँदा नदी किनाराका बस्ती डुबानमा परेको र ठूलो क्षति भएको थियो । तर यस्तो हुँदाहुँदै मालपोत कार्यालय भक्तपुरका कर्मचारीको मिलेमतोमा ७ रोपनी बगरको जग्गा दर्ताको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्