भारतमा पहिरोमा परी मृत्यु भएकाहरुका परिवारलाई आर्थिक सहयोग


 


चितवन, भदौ १२ । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिकाले गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले अन्य आवश्यक सहयोग कार्यपालिकाको बैठकपछि निर्णय गरेर गर्ने बताए ।

सबै परिवारको अवस्था नाजुक रहेको जनाउँदै उनीहरूले काम गरेको कम्पनीबाट समेत राहत दिलाउन पहल भइरहेको उनले बताए ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ ।

पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोमा पुरिएर घटनास्थलमा मृत्यु भएको हो ।

उनीहरूको शव शनिबार राति ल्याइएको थियो । पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्