प्रचण्डको उपस्थितिमा माओवादीको सुदूरपश्चिम परामर्श बैठक बस्दै


 


काठमाडौँ, भदौ १२ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बैठक सुरु हुन लागेको हो ।

बिहीबारसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्