आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौँ, भदौ १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्