कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिनुभएको हो ।
उहाँले रु १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गर्नुभयो ।
छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार