माफियाको सेवा गर्न कांग्रेस–एमालेले लेखा समिति पनि हडप्न खोज्दैछन् : प्रचण्ड


 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को लेखा समिति प्रतिपक्ष दललाई नदिन सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले कुतर्क गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस–एमालेले उक्त समिति आफैं राखेर संसदीय परम्परा विपरीत गएको बताए ।

राजनीतिक सन्तुलन कायम गर्न लेखा समिति प्रतिपक्षले पाउनुपर्ने तर्क गरेका उनले भने–‘संसदीय परम्परामा संसारभरि नै लेखासमितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र नियन्त्रण हो । अहिले यो संसद्मा पनि प्रतिपक्षले लेखासमितिको सभापति पाउनुपर्ने हो तर नदिन अनेकथरी कुतर्क गरिँदै छ ।’

प्रतिनिधिसभाको लेखासमिति पाउन ‘राष्ट्रिय सभाको अध्यक्ष छाड, प्रतिनिधिसभाको उपसभामुख छाड’सम्म भनिँएको बताएका उनले भने–‘किन भनिँदै छ यस्तो ?’ भन्दै प्रश्न गरेका थिए । माफियाको सेवा गर्न दुई तिहाइको सरकार पर्याप्त नभएको बताएका अध्यक्ष दाहालले भने–‘माफियाको यति धेरै सेवा गर्नु छ कि त्यसका लागि सिङ्गै दुई तिहाइको सरकारसमेत पर्याप्त छैन, समिति पनि चाहिन्छ ।’

उनले प्रतिपक्षको भूमिका खोसेर जनताको आवाज नरोकिने बताए । आक्रोश पोख्दै उनले भने–‘मेरो च्यालेन्ज भयो, लेखा समिति मात्रै किन ? चाहिन्छ भने प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि तपाईहरूसँगै राख्नोस् । हामीले हिजो केबल एउटा जिम्मेवार नागरिकका रुपमा तपाईंहरूको कुशासनको प्रतिरोध गरेका हौं, आज पनि हामी त्यो हिम्मत र हौसला राख्छौं ।’

पछिल्ला चालिस दिनमा सरकार बदनाम भइसकेको दाबी गरेका दाहालले भने–‘सरकार यति छिटै यो तहमा बदनाम हुनु प्रतिपक्षका हिसाबले राम्रै त हो नि, भन्न नसकिने होइन । तर म आज खुसी होइन, ठूलो चिन्ताका साथ यो रोस्टममा उभिएको छु । जम्मा चालिस दिनमै सरकार स्वार्थसमूहहरूका पक्षमा जसरी खुला रुपमै उभियो, त्यसले जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ । त्यसका झिल्का जताततै देखिँदै छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेथिति, विकृतिबारे मतलव नभएको उल्लेख गर्दै विद्युतको डेडिकेटेड र ट्रंकलाइन बिलको विवादमा उत्रिएको आरोप लगाए ।

अध्यक्ष दाहालले भने–‘लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्