कानून समिति बैठक : जसपाका सांसदले एमालेका सांसदलाई झपारेपछि…


 


काठमाडौं । कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा दुई सांसदबीच चर्काचर्की परेको छ । बैठकमा एमाले र जसपा सांसदहरूबिच भनाभन भएको हो ।

सिंहदरबार स्थित समितिको कार्यालयमा आज बसेको बैठकमा जसपा सांसद प्रकाश अधिकारी र एमालेका मुख्य सचेतक महेश बर्तौलाबिच चर्काचर्की परेको हो ।

बैठकमा सांसद अधिकारीले कानून समितिले दिएको निर्देशन पालना नगर्ने भए कानून समितिको के औचित्य छ भन्दै प्रश्न उठाएपछि सांसद बर्तोलाले त्यसको प्रतिवाद गरेका थिए ।

एमालेका मुख्य सचेतक बर्तौला समितिमा बसेर समितिको औचित्य माथि प्रश्न उठाउन नमिल्ने बताए । उनले भने–‘प्रश्न उठाउनु छ भने समितिमा नआउन सकिन्छ, यसको औचित्यका बारेमा प्रश्न गर्ने कुरा स्वीकार हुँदैन । सरकारले गर्ने निर्णय उपयुक्त नलागे पनि समितिको बारेमा नराम्रो भन्न मिल्दैन ।’

त्यसपश्चात समय मागेर बोल्दै अधिकारीले आफूलाई समितिबाट निस्केर जा भन्ने अधिकार बर्तौलालाई नभएको बताए ।

उनले भने–‘सरकारको मुख्य सचेतकले जे बोल्नुभयो मेरो त्यसमा आपत्ति छ । कसैले कृपाले म यो समितिमा आएको होइन। संवैधानिक अधिकार प्रयोग गरेर आएको हो। उठेर जा भन्ने अधिकार कसैलाई छैन । बिचार राख्ने स्वतन्त्रता सबैलाई छ । यो आपत्तिजनक शब्द आपत्तिजनक छ आइन्दा यस्तो शब्द प्रयोग नगर्नुहोस् ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्