रविलाई ‘अपराधी करार गरिछाड्ने’ अड्डी कसेका ढकाल रास्वपाको सदस्यसमेत रहेनन्


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।

तर, त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याललगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोल्दै आएका थिए ।

पार्टी अनुशासन आयोगले डा. ढकालको उक्त क्रियाकलापहरुले पार्टीलाई हानी गरेको निष्कर्ष निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो ।

त्यसपश्चात् यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्