भन्सार छलीको ९ लाख बढीको सामान बरामद


 


डोटी, भदौ ११ । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार विभिन्न स्थानबाट ९ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार सामान बरामद गरिएको हो ।

सोमवार कैलालीको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं.१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ ।

बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका सामानहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सो सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ को सुकासाल, सोही नगरपालिका–९ को मटेना र वडा नं. ११ को भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब दुई लाख १६ हजार ६ सय बराबरको सामान बरामद गरिएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्