पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु


 


खोटाङ, १० भदौ खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । 

च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । 

घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उहाँको भनाइ छ । 

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए । 

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्