मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि
ताप्लेजुङ, १० भदौ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो ।
उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्नका लागि भुजेलले गरेको उक्त गोल नै प्रयाप्त बन्यो ।
सगरमाथा युथ क्लबले उपाधि जितेसँगै ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गरेको छ ।
उपबिजेता बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपरेको छ ।
प्रतियोगिताको सेमीफाइनलमा मोरङ आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई हराउँदै सिराहा फाइनलमा पुगेका थिए ।
यसैगरी सोमबार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सगरमाथाका सौभाग्य राई सबोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै सगरमाथाकै गोलकर्तासमेत रहेका विजय भुजेल सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
त्यस्तै उत्कृष्ठ गोलरक्षकमा मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्स सिराहाका कुलदिप कार्की, उत्कृष्ट मिडफिल्डर सिराहाकै सन्तोष खत्री घोषित हुनुभयो । उहाँहरु तीनैजनाले समान १०–१० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
यता प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गर्नुभयो ।
उपबिजेता र विभिन्न विधागत उपाधि प्राप्त गर्ने खेलाडीलाई प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, खगेनसिंह हाङ्गाम, निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा लगायतका जनप्रतिनिधिले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारहरु वितरण गर्नुभएको थियो ।
प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्ने प्रतियोगितामा यसवर्ष भारतको सिलिगुढी, नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सुपर लिग खेलेको बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसहित आठ टोली सहभागी भएका थिए । उता लाखेजात्राको अवसरमा आयोजना हुने गरेको यो प्रतियोगिता ताप्लेजुङकै खेल इतिहासमा पुरानो मानिँदै आएको छ ।
विगत २०२९ सालदेखि विभिन्न नाममा खेलाइँदै आएको प्रतियोगिता गतवर्षदेखि भने ताप्लेजुङ गोल्डकपका नाम दिएर आयोजना गर्न सुरु गरिएको हो । प्रतियोगितालाई निरन्तरता दिन र थप व्यवस्थित तथा उत्कृष्ट बनाउने उद्देश्यसहित यसवर्षदेखि पुरस्कार राशि पनि वृद्धि गरिउका आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
सुरुको पुरस्कार राशि वृद्धि गर्दै गतवर्ष सम्ममा विजेतालाई तीन लाख ११ हजार १११ रुपियाँ र उपविजेतालाई एक लाख ५१ हजार १११ रुपियाँ पुर्याइएको थियो ।
प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार