मेलम्ची खानेपानी भ्रष्टाचारकाे निरन्तर सुनुवाइ गरेर फैसला सुनाउने तयारी


 


काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको हो ।

अख्तियारले २०८० फागुन ६ गते आयोजनामा पटक पटक म्याद थप गर्ने लगायत कार्य गरी आर्थिक अनियमितता गरेको आरोपमा तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोजनामा अनुचित तवरले भुक्तानी दिएको र उक्त प्रक्रियामा उनीहरूको संलग्नता रहेको अभियोगपत्रमा अख्तियारको दाबी छ । आयोजनामा निर्माण व्यवसायीलाई कामै नगरी भुक्तानी गरेको, एउटा निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा सामग्री प्रयोग गरेबापतको रकम नतिरेको अभियोगमा उल्लेख छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आइतबारदेखि फैसलाका लागि सुनुवाइ सुरु भएको छ । विशेषले यो मुद्दालाई निरन्तर सुनवाइ गर्दै टुङ्ग्याउने कार्कीले बताए ।

मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ । आइतबार प्रतिवादी (आरोपित)का तर्फबाट बहस सुरु भएको छ । १६ जनाका तर्फबाट बहस गर्नुपर्ने भएकाले करिब एक सातामा यसलाई टुङ्ग्याउने विशेष अदालतको तयारी छ ।

रिट निवेदकलाई चार दिन, सरकारी पक्षलाई दुई दिन र एक दिन जवाफी बहस सुन्दै यसलाई फैसला सुनाउने विशेषको तयारी छ । तर कानुन व्यवसायीको सङ्ख्या धेरै भएका कारण तोकिएको मितिमा सक्न कठिन देखिएको अदालतले जनाएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्