सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै


 


धनगढी । आज सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धुमधामका साथ मनाइँदैछ ।

खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्व विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुँडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् ।

बिरुँडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा ‘बिरुँडा’ धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउँछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा गर्ने गरिन्छ ।

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ ।

पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्व छ । सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् ।

एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ । विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एक अर्काका दुःख–सुखः बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठुलो पर्वको रूपमा मनाइन्छ ।

आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट कूल देवता प्रसन्न हुने जनविश्वास छ ।

पर्वको समापन सँगै कुनै राम्रो साइत हेरेर गौरा देवी को मूर्ति लाई बाजागाजासहित भएर नाच्दै गाउँदै र महिलाहरूले सगुना गाउँदै देउघर भन्दा अलि टाढा लगेर मूर्ति लाई राख्छन् अर्थात् सेलगाउँछन् ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्