नेपाली चलचित्रको विगत, आजको यथार्थ, स्तरोन्नति र व्यावसायिक पाटो


 


गीता अधिकारी
नेपाली चलचित्र उद्योगले पाँच दशकभन्दा बढीको यत्रा गरिसक्दा चलचित्रभित्रका खोला–नाला र भङ्गालाहरू अनेकन छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक २०२२ सालको असोजमा ‘आमा’ चलचित्रको प्रदर्शन भएको थियो ।

आजको मितिसम्म आइपुग्दा व्यावसायिक बन्न सकेको छैन भन्दा पनि हुन्छ । सरकारी लगानीमा निर्मित चलचित्र ‘आमा’ निर्माण हुनुअगावै २०१८ मा निजी लगानीमा चलचित्र ‘माइतीघर’ निर्माण थाले पनि ‘आमा’ पछि मात्र सार्वजनिक भयो । नेपाल भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा ‘सत्य हरिश्चन्द्र’ निर्माण भएको मानिन्छ । जुन नेपालीमा पनि डबिङ गरेर सार्वजनिक गरिएको थियो ।

‘आमा’देखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढाव आए । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रको पनि त्यत्तिकै महत्व राख्दछन् । तथापि, मूलधारको आफ्नै प्रकारको महत्व रहेको छ ।

नेपाली चलचित्र ब्ल्याक एण्ड हाइटदेखि आजको डिजिटल युगसम्म आइपुग्दा विभिन्न कलाकार प्राविधिकहरूले आफ्नो जीवन व्यतित गरिसकेका छन् । यो क्षेत्र धेरैको रहर भए पनि अहिले पेशा, व्यवसाय वा जीविकाको माध्यम पनि बनेको छ ।

अहिले पढेलेखेका, साक्षर वा वौद्धिक वर्गले पनि यो क्षेत्रलाई अङ्गालेका छन् । हिजो आज नवोदितहरुको चर्चा–परिचर्चा र वर्चश्व देखिन थालेको छ । यो समयको मागमात्र होइन, साथ पनि हो । नवकलाकारको सघन उपस्थिति सिर्जनाले वर्तमान नेपाली चलचित्रको उत्ताप, उचाइँ उद्दत छ ।

नेपाली चलचित्रको आकाश जति फराकिलो हुँदैछ यसमा हमला पनि त्यत्तिकै छ । विभिन्न क्षेत्रको नक्कल भित्र्याउन पनि उद्दत देखिएको पाइन्छ । मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता प्रकट भए पनि पछिल्लो समय चलचित्र चलाउनकै लागि अश्लीलता भित्रिएको पनि पाइन्छ ।

हाम्रो चलचित्र उद्योगको पाँच दशकभन्दा बढीको यात्रामा चलचित्रको निर्माणक्रम तीव्र भए पनि यसको व्यवसाय भने कछुवा गतिमै छ । चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर निर्माणक्रम भने तीव्र नै छ । वर्षमै सयौं चलचित्र निर्माण भए पनि थोरैमात्रको लगानी उठ्छ ।

चलचित्र निर्माण कोरोना संक्रमणकालमा केही कम भए पनि अहिले भने निर्माण क्रम बढिरहेको छ । चलचित्र बन्नेक्रम हरेक वर्ष बढ्दै जाँदा यस उद्योगमा करोडौं लगानी भएर पनि धेरैले लगानी उठाउन गाह्रो परिरहेको छ । नेपाली चलचित्र लगातार असफलताले व्यावसायिक रुपमा यस क्षेत्रलाई निराश पारेको अनुमान गर्न सकिन्छ । तर निर्माणतर्फको आकर्षण घटेको छैन ।

कोरोना संक्रमणअघि हरेक हप्ताजसो दुई/तीनवटा चलचित्र हलमा लाग्थे । पछिल्लो वर्षहरुमा पनि चलचित्र प्रदर्शनको संख्या बढ्दै आएको छ । तर प्रदर्शनको समय धेरैले एक साता कटाउन मुस्किल छ । यसको मूल कारण उत्कृष्ट कथावस्तु, आधुनिक प्रविधि र प्राविधिक नहुँदा उद्योग नै धराशयी बनेको छ ।

राम्रा भनिएकाले पनि लगानीसमेत उठाउन नसकेका धेरै उदाहरण छन् । स्तरवृद्धि हुन नसक्नु नै वर्तमान नेपाली चलचित्र क्षेत्रले भोग्नु परेको तीतो यथार्थ हो भन्छन् विज्ञ, विश्लेषकहरू । नयाँ स्वादसँगै दर्शकसँग प्रस्तुत भएका केही चलचित्रले सफलता हात पार्न सके पनि अधिकांशको लगानी खेल गएको छ ।

त्यसो त चलचित्र राम्रो बन्दा दशर्कले साथ दिन्छन् भन्ने पछिल्लो उदाहरण हो, ‘महापुरुष’ । यसले नेपाली चलचित्र इतिहासमा केही फड्को मारेको छ । अब नेपाली चलचित्रको बजार मुलुकबाहिर पनि खोज्न थालिएको छ । चलचित्र ‘प्रेम गीत–३’ ले यसको राम्रो सुरुवात ग¥यो । पहिलोपल्ट यो चलचित्र नेपालबाहिर धेरै ठाउँमा एकैसाथ प्रदर्शन भयो ।

यसले व्यापार पनि राम्रो ग¥यो । यसलाई नेपाली चलचित्रको कोशेढुंगा मानिन्छ । सयभन्दा बढीको संख्यामा चलचित्र बने पनि मुस्किलले १० प्रतिशतमात्रले व्यावसायिक सफलता पाउँछन् । नेपाली बजारमा थुप्रै भारतीय चलचित्रले राम्रो व्यापार गरेका छन् ।

यस अर्थमा पनि नेपाली चलचित्रमा दक्षता र व्यावसायिकताको कमी भएको पुष्टि हुन्छ । नेपाली चलचित्रहरूमा पछिल्लो समय केही नयाँपन आउको दाबी यससँग सम्बन्धितले गर्छन् ।

जबसम्म नेपाली चलचित्र उद्योग व्यावसायिक बन्दैन, अनि रहर र पैसाकै भरमा आएका कलाकार फिल्टर हुँदैनन् तबसम्म नेपाली चलचित्र उद्योगको उन्नति हुन नसक्ने निर्देशक तथा लेखक मोहन निरौलाको भनाइ छ । बाहिरको डब्बामात्र राम्रो अनि भित्री सामम्री दुई पैसाको अनि कसरी उभो लाग्छ चलचित्र उद्योग !

यसको विकास र विस्तारका लागि समयानुकूल चलचित्र नीतिको पनि आवश्यकता रहेको सरोकारवालाको भनाइ छ । यसबारे विभिन्न समयमा विश्लेषण भए पनि कार्यान्वन पक्ष जहिल्यै फितलो देखिन्छ । मुलुकको पहिचानसँग जोडिएको क्षेत्रलाई विकसित, भरपर्दो र मर्यादित बनाउनुपर्नेमा विभिन्न सेमिनार, गोष्ठीहरुमा कुरा उठाइन्छ । तर ती सबै गोष्ठीमै सीमित हुन्छन् ।

हरेकपल्टजसो सूचना तथा सञ्चारमन्त्रीहरूले विभिन्न आश्वासनसहित प्रतिबद्धता जनाउँछन् तर कार्यान्वयन हुँदैन ।
चलचित्र क्षेत्र आर्थिक समृद्धि र अर्थतन्त्रसँग जोडिएको छ । धेरैको रोजगारी प्रवद्र्धन यसक्षेत्रले गरे पनि किन व्यावसायिक सफलता पाउन सकेन आजको टड्कारो प्रश्न यो हो ।

चलचित्र क्षेत्रमा दक्ष जनशक्ति अभावलाई पूर्ति गर्न भावी पुस्तालाई सबल र सक्षम बनाउन ठोस कार्ययोजनाको पर्खाइमा छ यो उद्योग । नेपाली चलचित्रको विकासका लागि चलचित्र विकास बोर्ड र अन्य सरोकारवाला निकायलाई अधिकार सम्पन्न बनाउनुपर्ने देखिन्छ । जुन वर्तमानको आवश्यकता हो, यदि नेपाली चलचित्रलाई व्यावसायिक बनाउने हो भने ।

जबसम्म ‘मुर्गा’कै खोजीमा हाम्रो चलचित्र उद्योग रहन्छ तबसम्म यो सम्भव हुन्न । त्यस्तै जबसम्म हाम्रा चलचित्र जुधाइन्छ तबसम्म व्यावसायिक पनि हुँदैन । दर्शकलाई त छानी छानी चलचित्र हामी देखाउँला तर थोरै दर्शक भएको हाम्रोजस्तो बजारमा आखिर तिनै बाडिने हो ।

यस्तो कार्यलार्ई निर्माताहरूले बुझ्न सकेका छैनन् । यही कारण चलचित्रमा लगानी बालुवाको पानी सरह भइरहन्छ । अर्को पक्ष भनेको जबसम्म रहरले यो क्षेत्रमा आउनेको संख्या कमी हुन्न तबसम्म व्यावसायिकता हुनै सक्दैन । तीस/चालीस लाखमा बन्ने र करोडौंको लगानीमा निर्मित चलचित्रलाई एउटै टोकरीमा राखेर हेरिने चलनमा पनि परिर्वतन आवश्यक छ ।

२०८० का नेपाली चलचित्र

२०८० हामीबाट बिदा भइसकेको छ । हामी ०८१ सालमा प्रवेश गरेका छौँ । संसारभर आ–आफ्नै प्रकारका नयाँ वर्ष हुने गरेका छन् । हामीले वैशाख १ गते नयाँ वर्ष मनाउँदै आएका छौँ । साउन १ बाट नयाँ आर्थिक वर्ष । यसका अलावा हाम्रो देशमा एकै वर्षमा दर्जन नयाँ वर्ष मनाउने गरिन्छ ।

धार्मिक, सरकारी र संस्कृतिको दृष्टिले फरक–फरक किसिमका नयाँ वर्ष हामी मनाउँछौँ । विक्रम संवत्, ईश्वी संवत्, नेपाल संवत्, शक, तमु ल्होसार, ग्याल्बो ल्होछार, सोनाम ल्होछार, हजिरी, कृष्ण संवतदेखि सृष्टि संवतसम्म नयाँ वर्ष हाम्रो अस्तित्वमा छन् । त्यस्तै, थारू समुदाय र मगर समुदायले माघ–१ लाई पनि नयाँ वर्षका रूपमा मनाउँछन् ।

राष्ट्रिय संवत् मानिएको विक्रम संवत् अन्तर्राष्ट्रिय ईश्वी संवत् तथा विभिन्न जात, धर्म, समुदाय, समूह र सम्प्रदायका संवतले हामीलाई एकै वर्षमा थुप्रै नयाँ वर्ष दिएको छ ।

यतिबेला ०८० लाई फर्केर विभिन्न कोणबाट समीक्षा भइरहेको छ । नेपाली चलचित्र क्षेत्रमा पनि ०८० मा विभिन्न चर्चा र परिचर्चा भए । केही समय कोरोना महामारीले थला परेको यो क्षेत्र जसरी ०७९ मा केही हदसम्म जुर्मुरायो तर ०८० मा त्यसको रफ्तार त्यहीअनुरूप अघि बढ्न सकेन ।

५३ चलचित्र सिनेमा घरमा

नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० लाई फर्केर हेर्दा सुखद मान्न सकिँदैन । कमाइको गणना २०८१ मा हुने भए पनि यही वर्ष रिलिज हुने दुई चलचित्र ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ (चैत ३० मा प्रदर्शन) लाई जोड्दा यो वर्ष नेपाली बक्स अफिसमा ५३ नेपाली चलचित्र प्रदर्शनमा आए ।

वर्षभरि चलचित्र हेर्दा यो वर्षको सुरुवातमा ‘जारी’ ले राम्रो सुरुवात गरेको थियो । वर्षको अन्त्यमा ‘महाजात्रा’ले दर्शकको साथ पायो ।

दयाहाङदेखि दयाहाङसम्म

०८० मा चलचित्र ‘जारी’ र ‘महाजात्रा’ सुपरहिट देखिन्छन् । अन्य ६ वटा चलचित्रले लगानी सुरक्षित गरे । ०८० वैशाख १ मा दयाहाङ राई अभिनित ‘बिहे पास’ र ‘जारी’ बाट सुरु भएको नेपाली चलचित्र प्रदर्शन ०८० चैत ३० मा पनि दयाहाङकै ‘डिग्री माइला’ रिलिजसँगै वर्षको अन्त्य भएको छ । नेपाली चलचित्रमा ०८० दयाहाङदेखि दयाहाङसम्म रह्यो ।

यो वर्ष दयाहाङका मात्रै नौवटा चलचित्र सिनेमा घर पुगे । यीमध्ये चार चलचित्रले निर्मातालाई सुरक्षित राख्न सके । यद्यपि, दयाहाङकै ‘जारी’ सर्वाधिक कमाइ गर्न सफल भयो । उनकै चलचित्र ‘डिग्री माइला’ ले पनि मनग्य कमाइ गरेको छ ।

चलचित्रको सुखद व्यापारबाट निर्माण पक्ष खुसी छ । उता ‘बिहे पास’, ‘हात्तीछाप’, ‘नीरफूल’, ‘रंगेली’ लगायत दयाहाङका चलचित्रले निर्मातालाई निराश बनाए । ‘दिमाग खराब’, ‘दयारानी’, ‘नांगो गाउँ’ले निर्मातालाई सुरक्षित राख्न सके ।

०८० मा चलचित्र ‘परदेशी–२’, ‘अगस्त्य ः च्याप्टर १’ ‘गोर्खा वारियर’, ‘पशुपति प्रसाद–२’, ‘बगान’, ‘उपहार’ जस्ता चलचित्रले पनि निर्मातालाई सुरक्षित राख्न सफल भए । यो वर्ष सिनेमा घरमा केही चलचित्र भने कहिले आए कहिले गए पत्तै भएन । केही चलचित्र निकै राम्रो भनिए पनि दर्शकलाई सिनेमा घरसम्म तान्न सकेनन् ।

चलचित्र ‘बद्री बहादुर’, ‘चित्रा’, ‘हात्तीछाप’, ‘बुलाकी’, ‘कैदीको पत्र’, ‘हल्कारा’, ‘नाइँ नभन्नु ल–६’, ‘ए साथी सुन’, ‘हुक्का’, ‘जय हो’, ‘ऐँचो पैँचो’, ‘जिग्री’, ‘दुई कदम’, ‘रंगेली’, ‘एक भगवत् र एक गीता’, ‘ज्याकी : आई एम ट्वान्टी वान’ जस्ता चलचित्रले दर्शकको मन जित्न सकेनन् । यसैले निर्माता निराश भए । यस्तै, चलचित्र ‘लुंगा’, ‘कौसिद’, ‘परस्त्री’, ‘बगान’, ‘अदृश्य’, ‘गणपति’ले पनि दर्शकको साथ पाउन सकेनन् ।

एक अर्बभन्दा बढी लगानी

वर्षभरि चलचित्र हेर्दा सबैभन्दा बढी सिनेमा घरमा वैशाख, भदौ, फागुन र चैत महिनामा आए । लगानीका हिसाबले धेरै थोरै गरेर ५३ चलचित्र निर्माण गर्न यो वर्ष एक अर्बभन्दा बढी लगानी भएको देखिन्छ । तर, सुपरहिट र औसत चलचित्रको व्यापारसमेत जोड्दा मुस्किलले ८५ करोड हाराहारी उठ्न सक्यो । त्यसमा पनि सुपरहिट चलचित्र ‘जारी’ र ‘महाजात्रा’ले मात्रै ३० करोड व्यापार गरेका छन् ।

फेस्टिभलमा नेपाली चलचित्र

२०८० सालमा केही नेपाली चलचित्र विदेशी महोत्सवमा देखापरे । मीनबहादुर भामको ‘शाम्बाला’ बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपालीमात्र होइन, दक्षिण एसियाली चलचित्र बन्यो । टोरन्टोमा वल्र्ड प्रिमियर भएको नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ पहिलोपटक बेइजिङमा छनोट भएको थियो । टोरन्टो, बुसान, साओ पाउलो, मुम्बईमा यो चलचित्र स्क्रिनिङ भएको थियो ।

यस्तै, चलचित्र ‘द रेड सुट्केस’ भेनिस प्रिमियर हुँदै मुम्बई, हेडेलवर्ग, जेनेभिया, सर्बियामा स्क्रिनिङ भएको थियो । ‘गुराँस’ बुसान, मुम्बई, केरला, कोलकाता, कार्लोभो भारीमा स्क्रिनिङ भएको थियो । ‘ढोरपाटन’ सेफिल्ड डकफेस्ट, ‘साक्षी रूख’ बुसान, रोट्रड्याम, क्लेरमोन्ट फेराडमा छनोट भएको थियो । अन्तर्राष्ट्रिय फेस्टिभलमा छोटा चलचित्रको उपस्थिति पनि राम्रै देखियो ०८० मा । केसाङ छेतेनको ‘डाइभर्सिटी प्लाजा’ डकुमेन्ट्री, सुनिल गुरुङको ‘विन्डहर्स’, विदूषी गिरीको ‘चिसो घर’ र ‘हेलेना’ले चर्चा पाए ।

अन्तर्राष्ट्रिय बजार

नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुन थालेका छन् । अहिले प्रविधिले सहजता दिएको हो । एउटा सर्भरमा इन्कोडिङ गरे विश्वभर चलचित्र प्रदर्शन गर्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ ।

नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भएको हो । मौलिक कथा र कलात्मक प्रस्तुतिका चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतमा बजार विस्तार भएको छ ।

पहिलोपटक चलचित्र ‘गोर्खा वारियर’ लाई लण्डनमा प्रिमियर गरियो । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफासमेत गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र राम्रा ब्यानरले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शक हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा भित्रिएको छ ।

मुनाफासँगै यसले बजार विस्तारमा टेवा पु¥याइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । विदेशमा नेपाली चलचित्रको बजार बढेको सन्दर्भ जति तारिफयोग्य छ, त्यति नै नेपालमै बजार विस्तार नहुनु दुःखद छ ।

नयाँ अनुहार

२०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार पर्दामा आए । चलचित्र निर्माणसँगै यो क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढ्दो छ । २०८० मा पनि केही नयाँ कलाकारले सम्भावना देखाए ।

०८० को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्री ठूलो पर्दामा देखिनुभयो । यस्तै, असारमा प्रदर्शित ‘बगान’ मार्फत् अभिनेत्री प्रमिला कार्कीले दर्शकसामु देखिनुभयो । मंसिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुवात गर्नुभयो ।

माघे संक्रान्तिलाई लक्षित गर्दै पुसको अन्तिम साता प्रदर्शित ‘पर्खी बसेँ तिमीलाई’ मा रक्षा बुढाथोकी र किरण श्रेष्ठ उदाउनु भएको छ ।

यस्तै, पुसमा प्रदर्शन भएको चलचित्र ‘चित्रा’मार्फत् सन्तोष अधिकारीले रजतपटमा पाइला राख्नुभयो । फागुनको दोस्रो साता प्रदर्शन गरिएको ‘गोर्खा वारियर’मार्फत् रितेश चाम्सले अभिनय थाल्नुभयो ।

नयाँ वर्ष विसं २०८१ मा चलचित्र ‘११ः५५’मार्फत् सागर खनाल, चलचित्र ‘फर्की फर्की’ मार्फत् रवि काफ्ले र समृद्धि अर्याल, चलचित्र ‘बलिदान’मार्फत् अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत नेपाली चलचित्रमा डेब्यु गर्दै हुनुहुन्छ । उहाँहरूले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यो उहाँहरूका आगामी दिनले तय गर्नेछ ।

अहिलेलाई भने नेपाली चलचित्रले नयाँ–नयाँ कलाकार पाइरहेको छ । नयाँ पुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । ५८ वर्षे इतिहास बोकेको नेपाली चलचित्रलाई अझ समृद्ध बनाउने जिम्मा नयाँ पुस्ताकै काँधमा छ ।

नयाँ वर्ष नयाँ उमंग लिएर आएको छ । यो वर्ष विगतमा जस्तो देशले अनेक झमेलाको सामना गर्न नपरोस् । नयाँ वर्ष नयाँ दिनजस्तै वर्षैभरि उमंग छाओस् । आमनेपालीलाई शान्ति र विकासको बाटोमा डो¥याउन सफल होस् । नेपाली भाषा, साहित्य, कला, संस्कृतिको मार्ग अझ फराकिलो होस् । नेपाली चलचित्रले अझ फड्को मारोस् ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्