दिगो पर्यटनको आधार स्तम्भ होमस्टे


 


भीमबहादुर केसी
पूर्व अध्यक्ष, होमस्टे महासंघ नेपाल
होमस्टे अर्थात् ‘घरबास’ भनेको कुनै पनि पर्यटकले घरको संस्कार, स्थानीय संस्कृति, रीतिरिवाज, भेषभूषा र त्यो ठाउँको प्रकृति सबै आफ्नै आँखाले देखेर, भोगेर र आफ्नै जिब्रोले चाखेर स्थानीयस्तरकै बसोबासमा अनुभूति लिने कार्य हो ।

एउटा पर्यटकले पारिवारिक रूपमा बस्ने, खाने, रमाउने र जुन घरमा बस्छ त्यही घरको चालचलन, खानपान, रहनसहनसँग भिजेर होटलमा बसेकोभन्दा भिन्न अनुभूति लिन पाउने ठाउँ नै होमस्टे हो ।

नेपालमा होमस्टेको इतिहास

व्यावसायिक ढंगले नेपालमा होमस्टे विकास भएको डेढ दशकमात्रै हुँदैछ । वि.सं.२०६७ मा नेपाल सरकारले होमस्टे दर्ता निर्देशिका ल्याएपछि मात्रै औपचारिकरूपमा होमस्टे अगाडि बढेको हो । यता होमस्टेको अनौपचारिक इतिहास भने अलि पुरानो छ ।

जतिबेला व्यवस्थित होटल तथा रिसोर्टहरू थिएनन् त्यतिबेला पनि मानिस यात्राका लागि वनजंगल, भीर, पहरा, हिमाल, पहाडलगायत गाउँगाउँको अध्ययन गर्न निस्कन्थे । यात्रा गर्दा आफ्नो लागि चाहिने बन्दोबस्तीका सामान आफैं लैजानुपर्दथ्यो ।
यात्राका क्रममा ओढारमा बस्नुपर्ने, सबै ठाउँमा भनेअनुसार ओढार र पानी नपाइने हुँदा धर्मशाला, पाटी, पौवाको बास हुने गर्दथ्यो ।

विस्तारै पर्यटकहरू गाउँका गोठ, छाप्रो र घरको पालीमा आश्रय लिएर बस्न थाले । पाहुनालाई भगवानसरह मानेर ‘अतिथि देवो भवः,’ को सत्कार दर्शाउने नेपाली संस्कारअनुसार त्यतिबेला पैसा लिने चलन थिएन । पर्यटकहरू आउँथे, बस्थे र जानेबेला उपहार दिएर जान्थे । बीचमा ठूलठूला होटल, रिसोर्ट खुले । पछि फेरि पर्यटनलाई गाउँ–गाउँसम्म पु¥याउने भन्दै घरलाई नै पर्यटक बस्ने उपयुक्त बासको रूपमा विकास गरेर होमस्टे सुरुवात भएको हो ।

नेपाल घुम्न आएका पर्यटकहरू सुरुवाती समयमा गाउँ हेर्न, घुम्न र बस्नका लागि उपत्यकाभित्रका कीर्तिपुर, भक्तपुर जाने गरेको पाइन्छ । उपत्यकाबाहिर बन्दीपुर गएर बस्दथे । त्यसपछि वि.सं.२०५४ सालमा भारतीय सेनाबाट अवकाश प्राप्त क्याप्टेन रुद्रमान गुरुङ गाउँ फर्केपछि स्याङ्जा सिरुबारीमा होमस्टे सुरु गरेर सामुदायिक पर्यटन सम्भावनाको ढोका खोल्नुभएको पाइन्छ ।

यता गाउँघरमा पर्यटकलाई पञ्चेबाजासहित घुमाउने, टीका, माला लगाइदिने प्रचलन भने वि.सं. २०५२ सालदेखि नै सुरु भएको थियो । अर्काेतिर वि.संं. २०५५ सालमा लमजुङको उत्तरकन्या गाविस अध्यक्ष प्रेम घलेले घलेगाउँलाई होमस्टे गाउँको रुपमा घोषणा गर्नुभएको थियो । उहाँले सिरुवारीको अभियानलाई निरन्तरता दिँदै घले गाउँलाई होमस्टे गाउँको रुपमा रुपान्तरण गरेर आज संसारभर चर्चित स्मार्ट भिलेजको रुपमा चिनिएको छ ।

नेपाल सरकारले घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरेको छ । घलेगाउँ गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहारसहित मीठो खानाले परिचित छ । सोही समयदेखि पूर्वी इलामको श्रीअन्तुमा धनबहादुर आलेलगायतका अगुवाले ग्रामीण पर्यटनका गतिविधि सुरु गरेका थिए ।

कानुनी रुपमा होमस्टे

सरकारले वि.सं. २०६७ सालमा होमस्टे (घरबास) सम्बन्धी कार्यविधि जारी गरेपछि नेपालमा दर्ता गरेर कानुनी रुपमा होमस्टे चलाउन थालिएको हो । त्यसपछि पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले समुदायमा निजी वा सामुदायिक रुपमा सञ्चालन गरिएको सेवालाई होमस्टे (घरबास) भनियो ।

‘ग्रामीण क्षेत्रमा स्थानीय जनसमुदायमा स्वरोजगारको अवसर सृजना हुने तथा आम्दानीको माध्यमबाट मानिसको जीवनस्तरमा सुधार ल्याउने, ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने, ग्रामीण पर्यटन व्यवसायका माध्यमबाट विपन्न, महिला, आदिवासी, जनजाति र हालसम्म समेट्न नसकिएको समूहको समेत संलग्नता रहने गरी प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने पर्यटन नीति २०६५ अनुसार नेपालका ग्रामीण तथा शहरी भेगमा समेत होमस्टेको माध्यमबाट पर्यटन विकास, प्रबद्र्धन, व्यवस्थापन र नियमन गर्ने’ कुरा कार्यविधिमा उल्लेख थियो ।

नेपाल सरकारले सन् २०११ लाई नेपाल भ्रमण वर्षको घोषणा गरेर नेपाल घुम्न आउने पर्यटकहरू शहर, बजारमा मात्रै नभई दूरजराजसम्म पुग्न सकुन्, होमस्टेमा बसुन्, गाउँको प्रकृति, संस्कृति र आतिथ्यता प्राप्त गरुन् भन्ने उद्देश्य राखेको पाइन्छ ।

प्रत्येक निजी वा सामुदायिक होमस्टेले ४ कोठाभन्दा बढी राख्न नपाउने, पर्यटकलाई सफा, ताजा, स्वच्छ र स्वस्थ खाना/खाजा खुवाउनु पर्ने, पारिवारिक वातावरणसहित घरआँगनको उचित सरसफाइ हुनुपर्ने, घरमा आएका पाहुनालाई स्वागत र बिदाइ गर्नुपर्ने, सुरक्षाको राम्रो प्रबन्ध गर्नुपर्ने, स्थानीयस्तरमा उत्पादित रैथाने खानेकुरा खुवाउनुपर्ने, समुदायमा रहेका आ–आफ्ना संस्कृतिअनुसार पर्यटकलाई आवश्यक मनोरञ्जन दिनुपर्ने, स्थानीय पर्यटकीय स्थलहरूमा अवलोकन भ्रमण गराउनुपर्नेलगायत शर्तहरू कार्यविधिमा राखिएको छ । समयक्रमसँगै डेढ दशकमा देशैभर होमस्टे फैलियो ।

होमस्टेको सञ्जाल र महासंघ

घरबास पर्यटनअन्तर्गत काठमाडौंको कपनमा वि.सं. २०६७ चैत १६ गते आयोजित पहिलो राष्ट्रिय कार्यशालामार्फत होमस्टेको सञ्जाल निर्माण पहल भएको थियो । त्यही जगमा टेकेर वि.सं. २०७० को असार २९ र ३० गते नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा होमस्टेको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भयो ।

त्यतिबेला सरकारी कार्यविधिमा टेकेर होमस्टेकर्मीहरूले सञ्जाल निर्माणअन्तर्गत नुवाकोट सामुदायिक होमस्टेका अध्यक्ष सेवानिवृत्त प्र.अ. श्यामसुन्दर श्रेष्ठलाई होमस्टे एसोसिएसन अफ नेपाल (होसान) तदर्थ समितिको संयोजकको रुपमा चयन गरे । उहाँ नै होमस्टेको संस्थापक संयोजक हुनुहुन्छ ।

त्यसपछि काठमाडौंको खुल्लामञ्च, कपन, नगरकोटमा बसेर कैयौंपटक विधान मस्यौदा निर्माणबारे छलफल भए । बीचमा संस्थापक संयोजक श्रेष्ठको निधन भयो । पछि परशुराम चौधरीलाई संयोजक बनाएर होसानलाई विधिवतरुपमा अगाडि बढाइयो ।

त्यसपछि वि.सं. २०७२ फागुन ६ देखि ८ गतेसम्म होमस्टे एसोसिएसन अफ नेपालको प्रथम राष्ट्रिय अधिवेशन अमलटारी सामुदायिक होमस्टे नवलपरासीमा सम्पन्न गरी मेरै नेतृत्वमा पहिलो २५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो । त्यसको तीन वर्षपछि नवलपुर पिप्रहर सामुदायिक होमस्टे ग्राममा २०७५ माघ १६ र १७ गते भएको दोस्रो राष्ट्रिय सम्मेलनले केशव बडालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग¥यो ।

लगत्तै एसोसिएसनलाई होमस्टे महासंघमा लैजाने बहस सुरु गरेर तेस्रो अधिवेशनमार्फत यसलाई पारित गराउने निर्णय भयो । प्रस्तावित नयाँ विधानअनुसार बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेमा एसोसिएसनको तेस्रो राष्ट्रिय अधिवेशन २०७८ चैत्र ११ देखि १३ गतेसम्म आयोजना भयो ।

सो अधिवेशनले एसोसिएसनलाई होमस्टे महासंघमा लैजाने निर्णयसहित दुई कार्यकाल होमस्टे एसोसिएसनका महासचिव बनिसकेका प्रेमशंकर मर्दनीया थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

वि.सं. २०८० वैशाखमा नवलपुरमा महासंघ दर्ता गर्ने कार्य भयो र संघीय संरचनाअनुसार सबै प्रदेशमा महासंघको नेतृत्व र गतिविधिलाई अगाडि बढाएर वि.सं. २०८० असोज २५, २६ र २७ गते चितवनको माडीमा होमस्टे महासंघको आयोजनामा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले प्रेमशंकरकै नेतृत्वलाई निरन्तरता दियो ।

यता कार्यशाला गोष्ठीको कुरा गर्दा बर्दियामा तेस्रो, सुर्खेतको थारु सामुदायिक होमस्टेमा चौथो कार्यशाला सम्पन्न भएर होमस्टेको विकासका लागि आवश्यक कार्य भए । गण्डकी प्रदेशको घलेगाउँ, कोशी प्रदेशको नाम्जेथुम्की सामुदायिक होमस्टे धनकुटालगायतमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमार्फत होमस्टेलाई उचाई दिने काम भएको छ ।

पर्यटनमा होमस्टेको योगदान र हुनुपर्ने कार्य

दशकभन्दा केहीअघि मात्रै स्थापित होमस्टे अर्थात् घरबास पर्यटनले गाउँगाउँमा स्वरोजगारको अवसरसँगै सेवा उद्यम अगाडि बढेका छन् । विदेशिएका युवाहरू पनि गाउँमै फर्केर पर्यटन विकास र प्रवद्र्धनका क्रियाकलापमा सक्रिय छन् । किसानहरूले रैथाने बाली उत्पादन गर्ने र होमस्टेमा बिक्री गर्ने काम भइरहेको छ ।

शहरको पैसा सीधै गाउँसम्म पुगेको छ । स्वदेशी तथा विदेशी पर्यटक गाउँघर, हिमाल, पहाड, तराई, भीर, फाँट, जंगलमा पुगेर होमस्टेमा बास बसी प्रकृति र संस्कृतिमा रमाउने वातावरण बनेको छ । गाउँका स्थानीय संस्कृतिको जगेर्ना, बाजागाजा एवं मौलिक नाचको संरक्षण हुन पुगेको छ ।

यस्तै परम्परागत भेषभूषा र गर–गहनाहरूको संरक्षण हुनुका साथै देशका सबै भेगका नागरिक, सहकारी समूह, कृषि समूह, शिक्षक, विद्यार्थी र अध्ययन गर्ने व्यक्ति होमस्टेका पाहुना बनी देशका कुनाकाप्चासम्म पुगेर मनोरञ्जन लिँदै आफ्ना इच्छा पूरा गर्ने अवसर सिर्जना भएको छ । पर्यापर्यटनको संरक्षणसहित होमस्टेहरू गाउँमा पर्यटनको केन्द्र बनेका छन् ।

केही समय अघिसम्म नेपालमा पर्यटकीय गन्तव्य भनेर काठमाडौं, पोखरा र चितवनलाई मात्रै चिन्ने अवस्था थियो भने होमस्टेकै कारण अहिले यस्ता पर्यटकीय गन्तव्यहरू गन्नै नसकिने हिसाबले विकास भएका छन् ।

समाजमा समूहगतरुपमा काम गर्ने बानीको विकास हुनुका साथै नातागोता र गाउँलेबीच सम्बन्ध सुमधुर बनाउने आधार तयार भएका छन् । देशभर उद्यमशीलता र पर्यटन व्यवसायको विकास भएको छ । देशविदेशका अध्येता, अनुसन्धानकर्तालाई गाउँ र यसको समग्र क्षेत्रको अध्ययन अनुसन्धान गर्न सहज भएको छ ।

आर्थिक उन्नति, गरिबी निवारण र रोजगारीको अवसर सिर्जना गर्न विकासका आयाममध्ये पर्यटन र त्यसमा पनि होमस्टे एक दरिलो माध्यम बनेको छ । अब भने होमस्टे अभियन्ता, अगुवाहरूसहित सबैले पाहुनाहरूलाई राम्ररी चलेका सामुदायिक तथा निजी होमस्टेहरूमा लगेर बास बसाउने र ती होमस्टेहरूले देखाउने प्राकृतिक, सांस्कृतिक तथा व्यावहारिक पर्यटकीय स्रोतहरूमा रमाउने वातावरण तयार पार्न होमस्टेसँग सम्बन्धित भ्रमण प्याकेज तयार गरी यसको उचित प्रचारप्रसार गर्न सक्नुपर्ने खाँचो देखिन्छ ।

होमस्टेमार्फत स्थानीय सरकारले पनि लाभ प्राप्त गर्न सक्ने भएकाले स्थानीय पालिकाले होमस्टेकर्मी र होमस्टे अभियानमा लागेका व्यक्ति तथा समूहलाई आकर्षित र प्रोत्साहित गर्ने खालका पर्यटन नीति लिनु आजको आवश्यकता हो ।

सरकारले विद्यमान ऐन, कानुन, कार्यविधि समुदायमैत्री बनाउनुपर्ने, कानुनी बाधा/अड्चन हटाउनुपर्ने, दक्ष जनशक्ति निर्माणमा राज्यले सहयोग गर्नुपर्ने, आवश्यक तालिम गोष्ठीको आयोजना, बाटो, पानी, बिजुली, स्वास्थ्य, सुरक्षा, सञ्चारलगायतका आवश्यक पूर्वाधारको विकासमा सहयोग गर्नुपर्ने, होमस्टेहरूको समग्र विकासमा लागि बजेट विनियोजन गर्नुपर्ने, होमस्टेको ब्राण्डिङ र बजारीकरणमा सहयोग गर्नुपर्नेलगायतमा योजनाबद्ध कार्य अगाडि बढाउनुपर्ने देखिन्छ ।

सारमा भन्दा आजका होमस्टेहरू भोलिको दिगो पर्यटन र आर्थिक समृद्धिको खुड्किला भएकाले सरकारले सोहीअनुरुप कार्य गरेर समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने खाँचो छ ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्