नेपाली सङ्गीत : बितेका दशक


 


बुलु मुकारुङ
सङ्गीतज्ञ
भूमिका
बितेको दशकमा नेपाली सङ्गीतमा के कति परिवर्तन आए ? भन्ने सवाल उठ्न सक्छ । के कस्तो सङ्गीतलाई नेपाली सङ्गीत भन्ने प्रश्न पनि आउला । सामान्य परिचय वा परिभाषा दिँदा नेपाली सङ्गीत भन्नाले नेपाली कलाकारले नेपाली भाषा वा बाजासँग आवद्ध गरी निर्माण गरिएको अर्थात् सिर्जना गरिएका गीत–सङ्गीत नै नेपाली सङ्गीत हो ।

जसमा नेपाली लोकबाजा, भाषा, आधुनिकबाजा वा आधुनिक प्रविधिले सुविधायुक्त प्रसाधनहरू प्रयोग गरी सिर्जित गीत–सङ्गीत हुन्छन् । सरक्क पृथक गर्दा भने लोकसङ्गीत र आधुनिक सङ्गीत भनेर फब्लेटो पार्न सकिन्छ । र, दुई धु्रवमा अदृश्य रूपमा देख्न सकिन्छ । जो नेपाली सङ्गीतका भोक्ताले आस्वादन गरिरहेका समकालीन सङ्गीत नै हुन् ।

नेपाली सङ्गीतको उठान

नेपाली सङ्गीतको विधा (जन्रा) लोक, शास्त्रीय र आधुनिक मिश्रणबाट अगाडि बढेको देखिन्छ । आरम्भ कालीन नेपाली सङ्गीतका साधकादिले सिर्जित सङ्गीत रचना र गायनशैली शिल्पले यही देखाउँछ । यिनै बिन्दुबाट पाइला चालेको नेपाली सङ्गीत एक सय वर्षअधिक आयुमा आइपुग्दा त्यसभित्र अनेकन् आवर्तन, परावर्तन र परिवर्तनहरू देखिन्छन् ।

सङ्गीत रचनामा होस् या गीत, गायनशैली होस् या बाजा र वादनशिल्पमा होस् । विश्व सङ्गीतले अभ्यास गरेका विविध शैली नेपाली सङ्गीत प्रचलनमा सरक्कै भित्रिएको पाइन्छ ।

नेपाली सङ्गीतमात्र के कुरा विश्व सङ्गीतको विकासमा पनि नारीस्वरलाई बर्जित गरिएको थियो । पुरुषले नै नारीस्वरमा गीत गाउने युग आज धेरै तलको पत्रभित्र छोपिएको छ । आज नर–नारी एकल, युगल र समूह स्वरमा पनि गाउन पाइने भयो । रौनक, रोचक र रामरौस बढ्यो ।

मुख्यतयः लोकलचकमा आधारित गायन र शास्त्रीय लेपनमा नेपाली सङ्गीतको आरम्भ कालीन शैली र रोजाइ रहेको देखिन्छ । जस्तैः मास्टर मित्रसेन, मेलवादेवीका गायन गीतगतिले त्यही दर्शाउँछ । तर मास्टर सेतुरामले भने शास्त्रीय ढाँचालाई बढी मात्रमा विलेपन गरेको पाइन्छ । उनले गाएका गजल हुन् या नेवारी भाषाका गीत ।

केही गीत मेलवादेवीले ठुमरीशैलीमा मुख्य आधार लिएर गाएको देखिन्छ । पछि क्रमशः नेपाली सुरकर्मीहरू बढ्दै गएपछि हिनादेवी, उस्ताद साहिँला, हीरा बाई, मास्टर रत्नदास प्रकाश, धर्मराज थापा आदिले नेपाली लोकलयलाई आधार लिई गाउन थालेको देखिन्छ ।

आधुनिक सङ्गीतको विकास विस्तार

नेपाली सङ्गीतको विकास विस्तार दशदेखि बीसको दशकलाई लिन सकिन्छ । यही फाँट–फैलावटमा पुष्प नेपाली, नातिकाजी, अम्बर गुरुङ, शिवशङ्कर, तारादेवी, अरुणा लामा, शरण प्रधान, दिलमाया, गोपाल योञ्जन, प्रेमध्वज, नारायणगोपाल साथै लेकाली, देउराली, राल्फा आदिको प्रवेशले पाश्चात्य आधुनिक सङ्गीत शैलीशिल्प अझै नजिकियो । र उन्नत–सम्मुन्नत बन्यो ।

श्रोताहरूका सङ्गीत सम्मोहनले लोकप्रिय र चर्चित बने नेपाली सङ्गीत शिल्पीहरू । यही बेला डिष्क रेकर्ड बन्ने र सुन्ने प्रचलन नेपाली समाजले अम्मल ग¥यो ।

बीसको दशकपछि नेपाली सङ्गीतमा अत्याधिक सुरकर्मीहरूको सहभागिता रहन गयो । नर–नारी स्वरहरूको सहभागिता बढ्यो । जसको एउटै कारण थियो रेडियो नेपाल । लोकगीत र आधुनिक नेपाली गीत प्रशस्तै रेकर्ड भए । तर रेडियो नेपालमा एउटा खास नियम थियो त्यो हो स्वर परीक्षा ।

जसले स्वरअभ्यास र साधनालाई बढोत्तरी नै गरेको थियो । सुर, ताल र मीठो गरी गाउनुपर्छ भन्ने मानक पनि बस्यो । राजनीतिक अभिष्टबाट अभिप्रेरित र अनुशील भई केही कलाकारहरू जनताका गीत लिएर अर्को मोडमा देखिन थाले । जसले नेपाली सङ्गीतलाई नै विस्तृत गर्न थाल्यो ।

सङ्गीतको स्वर्णिम युग चेतना

चालीसको दशकपछि नेपाली सङ्गीतमा थुप्रै परिवर्तन आए । कतिपय लेखक तथा कलाकारहरू यही बीस र चालीसको दुई दशकलाई नेपाली आधुनिक सङ्गीतको स्वर्णिम युग मान्दछन् । एकमात्र रेडियो नेपालमा गीत रेकर्ड गराउनुपर्ने सुरकर्मीका लागि अपहत्ते जस्तै थियो ।

निजी रेकर्डिङ संस्थाहरू क्रमशः खुल्न थालेपछि रेडियो नेपालको स्वर परीक्षा एकाधिकार खुस्किन थाल्यो । म्युजिक नेपाल, ग्रप थ्री आदि यसका नमुना हुन् । रेडियो नेपालका केही जागिरे कलाकारहरू निजी स्टुडियोतर्फ लागे । क्यासेट कम्पनीहरू धमाधम खुल्न थाले । बिस्तारै नेपाली सङ्गीतको व्यापार–बजार विस्तृत बाटोमा अगाडि बढ्यो ।

फेरिएको प्रविधि र सङ्गीत

पचासको दशक आइपुग्दा नपुग्दै नेपाली सङ्गीत सुन्ने प्रविधि फेरियो । क्यासेटबाट सुन्दै गरेका गीतहरू सीडी (डिजिटल) माध्यमबाट सुन्न थालियो । डिष्क रेकर्ड विस्तारै विस्थापित हुनथाल्यो । क्यासेट कम्पनी नेपाली बजारभरि थिए ।

सीडीको आगमनले विकल्प खडा ग¥यो । पहुँच र रोजाइका आधारमा नेपाली गीत–सङ्गीत बिक्री हुन थाले । सुरकर्मीका रोजाइअनुसार सीडी वा क्यासेट लोक वा आधुनिक दुवै खालका गीत–सङ्गीत उत्पादन तथा बिक्रीवितरण हुन थाले ।

पचास र साठीको दशकबीच यति धेरै कम्पनी र रेकर्डिङ स्टुडियो खुले कि लोक सुरकर्मीले क्यासेट निकाल्न भ्याइ नभ्याइ हुन थाले । कलाकारहरूले आयआर्जन पनि मनग्यै गरे । स्थापित भए ।

हिजो भनिएको अनुत्पादक क्षेत्र नेपाली गीत–सङ्गीत व्यापक आम्दानीको बाटो बन्यो । यही बेला धेरैजसो सुरकर्मीले घरघडेरी जोडे । नेपाली सङ्गीत क्षेत्र व्यावसायिक बन्यो । गीत–सङ्गीत पेसा वा व्यवसाय हुनसक्छ भन्ने आत्मविश्वास चुलियो ।

स्पुल रेकर्डको समाप्ति हुनथाल्यो । ड्याट अर्थात् डिजिटल अडियो टेप र क्यासेट टेपजस्ता क्रमशः सङ्गीत उपयोगी हुन छोडे ।

डिजिटल युगको सङ्गीत

साठी र सत्तरीको दशक बढी मात्रमा सीडी उत्पादनको दशकका रूपमा लिन सकिन्छ । यसैगरी गीतलाई भिजुअल गरी हेर्ने गीतको होडबाजी चल्न थाल्यो । नेपाली चलचित्रका गीतभन्दा सीडीमा आएका गीतको भिजुअल राम्रो र चाँडो बजारमा आउनाले वर्ष दिन लगाएर बनाउने चलचित्र बासी हुन थाले । चलचित्रका गीतको शैलीमा पनि परिवर्तन हुन थाल्यो ।

नेपाली गीत–सङ्गीतको बजारभरि नै लोकदोहोरी, जुहारी वा सवाल–जवाफ अर्थात् संवाद शैलीका लोकगीतले छपक्कै ढाक्यो । एकल गीतभन्दा समूहको हावी भयो । रेकर्डिङ स्टुडियोहरू व्यस्त हुन थाले । स्वर परीक्षा दिनु नपर्ने भएपछि गाउँ गाउँबाट रहरे तथा शौखिन कलाकार उपत्यका भित्रिए ।

कमाई घमाई खुबै हुनथाल्यो । बजारमा आधुनिक प्रविधियुक्त डिभाइसेस प्रशस्तै देखिन थाल्यो । क्यासेट तथा सीडीका क्रेता–बिक्रेता ती संशाधनादि उपयोगमा ल्याउन थाले । बजारको चरित्र पनि फेरिन थाल्यो ।

मोबाइल (सेलफोन), कम्प्युटर, ल्यापटप, फ्लपी, पेन ड्राइभजस्ता आधुनिक प्रविधियुक्त प्रशाधन उपभोक्ताको रोजाइमा पर्नुले बजारका क्यासेट, सीडी आदि कम्पनीहरू क्रमशः धरासयी हुन थाले ।

आफूलाई चाहिने गीत, गायक वा सङ्गीत कपी हुनथाल्यो । जसले उत्पादक तथा बिक्रेतालाई थाहै नभई घाटा हुन थाल्यो । शहर–बजारका व्यापारीहरूले सङ्गीतका पसल बन्द गर्न थाले ।

आफ्नो उपस्थिति प्रदर्शित गर्नु गराउनुलाई मात्रै भए पनि सीडी निकाल्न कोसिस हुन थाल्यो । विदेशमा रहेका गीतकारहरूले लगानी गरी सीडी निकाल्दै आफ्नो रहर पूरा गर्नथाले । तर बिक्री भने न्यून हुँदै गयो ।

सत्तरीको दशक र सङ्गीत

यो दशकसम्म आइपुग्दा धेरै कम गीतकार, सङ्गीतकार वा सुरकर्मीले सीडी निकाल्ने प्रचेष्टा हुनथाल्यो । कारण थियो बिक्रीवितरण । लगानी भए पनि प्रतिफल नहुँदा र महँगो हुँदै जाँदा सङ्गीतकर्मीले बाटो बदल्नु कुनै अनौठो कुरा थिएन ।

वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका रहरे सर्जकले केही समय नेपाली गीत–सङ्गीतको बजार धानेका थिए ।
बजार धिमा हुँदै जाँदै थियो त्यही बेला ७२ को भूकम्पले ढ्याम्म हान्यो । गीत–सङ्गीतको केन्द्र मानिएको काठमाडौं उपत्यका सुनसान भयो । करिब छ महिनापछि उठ्न खोजेको सङ्गीतको बजार पहिलाजस्तो तङ्ग्रिन सकेन ।

यदाकदा गीतहरू रेकर्डिङ भए पनि । आ–आफ्ना अस्तित्वका लागि गीत रेकर्डलाई चालू राखे पनि सङ्गीतकर्मीहरूले मन फुकाएर गीत गाउन सकेनन् ।

त्यही बीचमा महामारी देसान (पाण्डामिक) आयो । ७६ सालको अन्तिम चैतदेखि ७७ को असोजसम्म देशभर लकडाउन भयो । यसले पनि नेपाली गीत–सङ्गीत उत्पादन, बिक्रीवितरण र सङ्गीत कर्मलाई ठूलै हानी–नोक्सानी दिलायो ।

घरबाट बाहिर निस्कनै नहुने अवस्था र कोरोना लाग्नै बित्तिकै मरिन्छ भन्ने त्रासदिले मान्छेहरू आजित भए । पेसा, व्यापार व्यवसाय अवरुद्ध भयो । सङ्गीत पेसाको मात्रै के कुरा भयो र ।

नेपाली सङ्गीतको बजार सुस्त हुनथाल्यो । स्वरूप पनि परिवर्तन हुँदै गयो । रुचि, रोजाइ र रहर युवा सङ्गीतकर्मीमा पृथक हुँदैगयो । क्रमशः युटुबको आगमन भयो र नेपाली सङ्गीतकर्मीहरू पनि त्यतै लहसिन थाले ।

आज असीको दशकको पूर्वाङ्ग पाइलामा नेपाली सङ्गीत अगाडि बढिरहेको छ । यहाँसम्म आइपुग्न के कस्ता शैली, शिल्प वा परिवर्तन नेपाली सङ्गीत जगतले अभ्यास ग¥यो ? यसलाई क्रमशः लिपिबद्ध गरिँदैछ ।

सङ्गीत शैली र परिवर्तन

नेपाली सङ्गीत उठानमा शास्त्रीय, लोकछनक र आधुनिक विश्वसँग जोडिएर अगाडि बढेको विषय यस लेखमा माथि उल्लेख भइसकेको छ । तर नेपाल सङ्गीतमा विशेष परिवर्तन विविध शैली, ढाँचा वा पारा पनि प्रविष्ट भइसकेको छ । जसले नेपाली सङ्गीतको स्वरूप परिवर्तनमात्र नभएर सुरकर्मीको रुझान र पहिचान पनि स्थापित भएको छ ।

नेपाली सङ्गीतमा छुट्टै शिल्पशैली हिप पप, ¥याप गायन स्थापित छ । जसको नेतृत्व, स्वामित्व वा मालिक्याइँ क्रमशः बालेन, भी टेन, वाई बी, लाउरे आदि चर्चित सुरकर्मीले गरेका छन् । नेपाली सङ्गीत क्षेत्रमा देखिएको दशककै बलियो शिल्पशैली हो ।

समकालीन युवाहरूको अत्याधिक रुचि रहेको यस शैलीकै कारण पनि बालेन चर्चित हुन पुगे । जसको फलस्वरूप उनलाई काठमाडौं महानगरको मेयरजस्तो गरिमामय र शक्तिशाली पदमा पु¥याउन जनताले अभिमत जाहेर गरे । गायक भी टेन, वाई बी, लाउरे आदि यही कारण युवाबीच लोकप्रिय छन् ।

लोकगीतमा विश्व सङ्गीतको पुठ

यस दशकको रोजाइ हिपपप र ¥याप सङ्गीत हो । किनकि हजारौं युवा–विद्यार्थी यस गायन शैलीसँग आवद्ध छन् । युवा श्रोताको रुचि, इच्छा वा आकांक्षा नै चर्चित हुने–रहने एउटा कडी पनि हो । लोकप्रियताको खुड्किलो उक्लिन युवाहरूको साथ हुनैपर्छ । हिजोआज लोकजुहारी, दोहोरी वा घाँसे, काँठे गीतमा पनि बीचबीचमा ¥याप हान्ने प्रचलन देखिँदैछ ।

प्रत्यक्ष गायनमा ¥याप हिपपप शैलीका चर्चित प्रयोगकर्ता बिराज गन्धर्ब हुन् । उनले अन्य कुनै पनि विपक्षी गायिकासँग गीत गाउँदा गाउँदै ¥याप शिल्पशैली पतुर्न थाल्छन् । जसले स्वाद श्रृती रमाइलो हुने गर्दछ ।

कतिपय काँठे गायक गायिकाले पनि यस शैलीलाई प्रयुक्त गर्ने गरेको देखिन्छ । नेपाली लोकगीतमा ¥याप स्वाद र मिठासका हिसाबले स्वादिलो लागे पनि यो एक प्रयोग फ्युजन हो । तर यसले नेपाली लोकगीतलाई लोकगीतको विधि–विधान जन्रामा भने राख्न मिल्दैन ।

¥याप गायन सङ्गीत पश्चिम सुडान अफ्रिकाको उपज हो । जो त्यहाँका बासिन्दाले आफ्ना पुर्वजहरू इतिवृत्त वृत्तान्त गायनबाट बताउने प्रचलन हो । तीसको दशकमा अमेरिका (यूएसए) को न्यूयोर्क प्रवेश भयो र रक सङ्गीतसँग मिश्रित भएको थियो । त्यसपछि क्रमशः अमेरिकी काला जातिले नै यसको विकास विस्तारण गरेका थिए । नेपालको सन्दर्भमा मात्र दुई दशकअघि यस शैलीको सङ्गीतले प्रवेश पायो । र आजको रूप–स्वरूपमा विकसित बन्यो ।

¥याप गायनद्वारा अमेरिकी काला जातिले विरोधको स्वर–सङ्गीत गुञ्जायमान गर्दै लगे । हिजोआज नेपालमा पनि विकृति, विसंगति र विभेद्विरुद्ध ¥यापको मुख्य आशय वा धेय गीतले ओकल्ने गरेको देखिन्छ ।

बौद्धिक वर्ग वा एक तहका ठूलाबडा यो शैलीका गीत–सङ्गीत सुन्न रुचाउँदैन अथवा फुर्सदमा रहँदैनन् । तर आमशहरी युवावर्ग यस सङ्गीत शैलीसँग जानिफकार छन् । यसैले लोकलर्कोमा लहरिएका कैयन् लोकगायक गायिका ¥याप सङ्गीततर्फ आकर्षित हुँदै गइरहेको देखिन्छ ।

दशकले खेपेको सङ्गीत र रूप

हिजोआज नेपाली सङ्गीत सुन्ने होइन पूर्णरूपले हेर्नेतर्फ उन्मुख छ । युटुब च्यानल, ब्लग, फेसबुक, इष्टाग्राम, टुइटर, न्यूज पोर्टल आदि न्यूज पोडकाष्ट निजी रूपमा सबै कलाकर्मीले खोलिसकेका छन् ।

जसमा तुरुन्तै र गीत रेकर्ड हुनेबित्तिकै त्यस गीतलाई वीथ लिरिक्स वा भिजुअलसहित आफ्ना च्यानलमा अफलोड गर्ने चलन चलिसक्यो । तुरुन्तै विश्व जगत्मा गीत कस्तो भयो ? भन्ने राय बुझिने माध्यम युटुब नै भयो ।

कतिपय गीत रातारात भाइरल हुन थालेको देखिन्छ । कतिपय गीतले थोरै भिवर्स पाएको देखिन्छ । यसले कलाकर्मीहरूलाई आर्थिक लाभसमेत प्रदान गर्ने गरेको पाइन्छ ।

सङ्गीत प्रसारणको माध्यम फेरिनुले सुर–सङ्गीतकर्मीलाई सजिलो पनि भएको छ । युटुब च्यानलको पहुँचमा नपुग्ने कतिपय कलाकार लोकदोहोरी साँझबाटै भए पनि आ–आफ्ना रोजिरोटी चलाइरहेका छन् । तर लोकजुहारी वा दोहोरीमा बढी मात्रमा छेडखानी (मोलेस्टेसन) हुने, रहने भएकाले उत्ताउला गीतहरूले प्रश्रय पाएको देखिन्छ ।

जात्रा, पर्व आदिमा प्रत्यक्ष संवाद प्रक्षेपण गरिने लोकगीत घाँसे, काँठे वा झ्याउरे जे जस्तो भए पनि कतिपय ब्लग वा युटुब सञ्चालकले खिचेर आ–आफ्ना च्यानलमा प्रसारण गरेको देखिन्छ ।

छेडखानी संवादका काँठे–घाँसे गीतमा अत्याधिक चर्चामा रहेका गायक दलबहादुर डंगोल, सुशीला लामा, शिवनारायण जोशी, पार्वती लामा, ज्ञानबहादुर विष्ट आदि प्रमुख देखिन्छन् ।

काँठे लोकगीतबाटै नेपाली सङ्गीत क्षेत्रमा उठेका गायक–गायिका मच्छेश्वर सापकोटा, नवराज घोरासैनी, भगवती दंगाल, मञ्जु लामा, बुद्धिकृष्ण लामिछाने, धमेश दुलाल, बरा क्षेत्री, नकुल बोहरा, रेशम थापा आदि धेरै कलाकार हुन् ।

हिजोआज तामाङ भाषामा गाइने फापारे सेलो पनि चर्चित तथा प्रचलित हुँदै आइरहेको देखिन्छ । यसप्रकारका लोकलयले पनि युटुबहरूमा स्थान पाउनु डिजिटल प्रविधिको करामत नै हो भन्न सकिन्छ ।

असीको दशक उकालो छुँदा नछुँदै विश्वसँग नेपाली सङ्गीत पनि लपक्कै लेपासिएको छ । जसले नेपाली सङ्गीतकर्मीहरूलाई सिद्धि, प्रसिद्धिमात्र मिलेको छैन गीत–सङ्गीतबाट आर्थिक आय–आर्जनको अर्को मूलबाटो खुल्ला भएको देखिन्छ ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्