तीन निर्वाचन आयुक्त सिफारिस


 


काठमाडौँ, माघ १४

संवैधानिक परिषद्को आज बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ । आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्थाअनुसार हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा हुनुहुन्छ । आजको सिफारिसपछि आयोगले पूर्णता पाउने भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव र मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी हुुनुहुन्थ्यो ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्