दूरसञ्चारको महत्व र नेपाल टेलिकम


 


संगीता पहाडी अर्याल
प्रबन्ध निर्देशक, नेपाल टेलिकम

पृष्ठभूमि
मुलुकमा गाउँ गाउँसम्म दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था हो नेपाल टेलिकम । वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको टेलिकमले सुरुमा आवाका माध्यमबाट सेवा प्रवाह गर्दथ्यो । त्यसपछि एनालग फोनलगायत प्रविधिमा विस्तार गरी सेवा दिएको थियो ।

सन् १९९० को दशकमा संसारभरि नै वायरलेस प्रणालीको आगमन भएपछि सन् १९९८ देखि नेपालमा पनि टुजी प्रविधिको विकास गरियो । टेलिकमले टुजी प्रविधि ल्याएर करिब २५ वर्षअगाडि अर्थात् २०५६ सालमा वायरलेस मोबाइल सेवा सञ्चालन गरेको थियो । सुरुमा काठमाडौं, पोखरा, वीरगञ्ज र नेपालगञ्ज गरी चारवटा मुख्य सहरमा मात्रै वायरलेस सेवाको विस्तार गरिएको थियो ।

टुजी प्रविधिमा भ्वाइसमात्र सञ्चालन हुने गर्दथ्यो, डाटा चल्दैनथ्यो । त्यसपछि विस्तारै यसको क्षमता विस्तारसँगै करिब ४ वर्षपछि त्यसलाई २ लाखसम्म पु¥याइयो । सन् २००७ मा क्षमता विस्तार गरी ३५ लाखसम्म पु¥याइयो । त्यससँगै भ्वाइस र डाटा दुवै प्रयोग हुनसक्ने भयो । सन् २००८ देखि नेपालमा काठमाडौंं र पोखरामा थ्रीजी प्रविधि परीक्षण गरिएको थियो ।

यो प्रविधि दक्षिण एसियामै नेपालमा पहिलोपटक सञ्चालन भएको हो । सन् २०१३ मा नयाँ प्रविधि भित्र्याएर करिब १ करोड लाइन क्षमताको टुजी र थ्रीजी प्रविधिको विस्तार गरियो । थ्रीजी प्रविधिमा टु एमबीपीएस प्रतिसेकेन्ड गति रहेको डाटा उपलब्ध गराइयो । त्यसले ग्राहकहरूमा कम्युनिकेसनको सक्षमता बढ्न गएको थियो ।

योसँगै प्रविधिमा नागरिकको पहुँच बढ्न गएको पाइन्छ । टेलिकम्युनिकेसनको पहुँच पुगेपछि सर्वसाधारणले त्यसको प्रयोग बढाउने रहेछन् भन्ने विषय पुष्टि हुन पुगेको छ । क्रमशः भ्वाइस र डाटा प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गयो ।

समयक्रमसँगै कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाई आफ्नो बजार हिस्सालाई मजबुत गरी व्यावसायिक उद्देश्य हासिल गर्न सेवा विस्तार र गुणस्तरमा विशेष जोड दिँदै फोरजी सेवा सुरुवात गर्ने निर्णय ग¥यो । सन् २०१६ मा फोरजीको सुरुवात गरिएको हो । सन् २०१९ मा देशैभर फोरजी प्रविधिको विस्तार गर्न टेलिकम सफल बन्यो ।

अहिले देशभर फोरजी प्रविधि विस्तार छ । ग्राहकले आफूसँग भएको प्रविधिले समर्थन गरेसम्म भ्वाइसमार्फत भिओएलटी, भिओवाईफाईसमेत प्रयोग गर्न सक्ने भएका छन् । त्यसैले टेलिकमको मुख्य काम नयाँ प्रविधि भित्र्याएर सर्वसुलभ हिसाबले गुणस्तरीय सेवा नागरिकसम्म पु¥याउनु रहेको छ । त्यो निरन्तर भइरहेको छ ।

आगामी वर्ष फाइभजी प्रविधि विस्तार गर्ने टेलिकमको लक्ष्य छ । फोरजीमा १०० एमबीपीएस् रहेको डाटाको स्पिड फाइभजीको प्रयोग भएपछि १ जीबीपीएस्को हुनेछ । त्यसपछि अर्थात् हाई ब्यान्डविथको डाटा ग्राहकले अनुभव गर्न सक्नेछन् ।

वायर लाइन सेवा

यता ल्याण्डलाइन ग्राहकको घरमा फोन लाइन प्रयोग गरेर सुरुमा फोन दिइएको थियो । सुरुमा डायल अप प्रयोग गरेर इन्टरनेट जोड्ने प्रावधान गरियो । विस्तारै एडिएसएलको प्रयोग भयो ।

अहिले यसलाई फाइबरबाट विस्थापित गरिएको छ र घरघरमा फाइबरबाट इन्टरनेट सेवा पुगिरहेको छ । फाइबरबाट इन्टरनेट सेवा पु¥याउँदा इन्टरनेटको गति उच्च रहेको ग्राहकको अनुभव छ ।

सेवा पु¥याउन कठिनाइ

नेपालका कतिपय हिमाली र पहाडी क्षेत्रमा सेवा पु¥याउन अहिले पनि कठिनाइ रहेको छ किन भने त्यहाँ सहजै पुग्न नसकिने, टावरसहित आवश्यक यन्त्र उपकरणका सामान लैजान र पूर्वाधार निर्माण गर्न कठिनाइ रहेको छ ।

अर्काेतर्फ सबैतिर गुणस्तरीय सेवा विस्तार गर्न सडक, बिजुली बत्तीको आवश्यकता पर्दछ । टेलिकमले बिजुली बत्ती नभएको स्थानमा पनि सोलार प्रविधिमार्फत सेवा दिइरहेको छ । तर एक/दुई दिन घाम लागेन भने त्यहाँ सेवाले काम नगर्न सक्दछ ।

त्यसैले अझै पनि टेलिकमको सेवा कतिपय स्थानमा मौसममा भर पर्नुपर्ने हुँदा कठिनाइ छ । विस्तारै सडक बाटोसहित, बिजुलीबत्तीको पहुँच विस्तारसँगै टेलिकम सेवाको गुणस्तर बढ्दै जाने र त्यस विषयमा कम्पनी मुख्यरुपमा केन्द्रित छ ।

नागरिकमा सूचना प्रविधिको पहुँच

वायरलेस प्रविधि आउनुभन्दा अगाडि टेलिकमले आफ्नो पहुँचलाई विभिन्न प्रणाली (MARTS, WLL) बाट नेपाललाई विभिन्न १० भागमा विभाजन गरी देशभर जनतालाई दूरसञ्चार सेवासँग जोड्ने काम गरेको थियो । वि.सं.२०६१ पछि मोबाइलबाट देशैभर सबैलाई जोड्ने काम हुन थालेको हो ।

आज संसारभर वायरलेस प्रविधि एकमात्र विकल्प रहेको छ । त्यसैगरी नेपालका दूरदराज र कुना कन्दरासम्म ग्राहकहरूले गुणस्तरीय वायरलेस सेवा प्राप्त गर्ने अवस्था बन्दै गएको छ । टेलिकमले सबै क्षेत्रमा आफ्नो क्षमता विकास गरिसकेको छ ।

करिब १५ वर्षअगाडि डाँडा डाँडामा बस्ती हुने र सोही हिसाबले बनाइएका योजना देशमा तीन तहको सरकार आएसँगै परिवर्तन हुँदै गएको छ ।

मानिसहरू डाँडाबाट घना बस्ती र शहरतर्फ केन्द्रित हुँदै जाँदा पुरानो योजनाले काम नगर्ने अवस्था बनिसकेको छ । त्यसैले अहिले पूर्वाधार थप्नुपर्ने चुनौती बढेको छ । यही विषयलाई मध्यनजर गर्दै फाइबर र वायरलेस प्रविधिको माध्यमबाट सेवा विस्तारमा टेलिकम अगाडि बढिरहेको छ ।

टेलिकम्युनिकेसन क्षेत्रको पछिल्लो दशक

पछिल्लो दशक भूकम्प र कोभिड महामारीदेखि नाकाबन्दी र धेरै विपदहरू नेपालले खेप्नुपरेको छ । त्यस परिप्रेक्ष्यमा नेपाल टेलिकमले सेवा विस्तारसँगै गुणस्तर सुधार र नयाँ प्रविधिको प्रयोगलाई निरन्तर अगाडि बढाइरहेको छ ।

भूकम्पजस्ता विपद्का बेला कम्युनिकेसन सबैभन्दा आवश्यक हुने रहेछ भन्ने घटनाले नै प्रमाणित गरिदिएको छ । त्यसैले २०७२ को ठूलो भूकम्प गइरहेको समयमा समेत टेलिकमले आफ्नो नेटवर्कलाई अवरोध हुन नदिई सेवा सुचारु गरेको थियो ।

विपद्का बेलासमेत नेटवर्कलाई यथास्थितिमा राखेर सेवालाई निरन्तरता दिन सकेकोमा टेलिकमले ग्राहकबाट प्रशंसा पाएको थियो । भूकम्पलगायत अन्य विपदका बेला कम्युनिकेसनको झन् बढी महत्व हुने कुरा यसले सिकाएको छ र सेवाको निरन्तरता भइहनुपर्ने विषय जानिएको छ ।

त्यसैगरी कोभिडको समयमा सबैजना घरभित्र रहने र बाहिर निस्कन नसक्ने स्थिति भएपछि यसको महत्व र आवश्यकता झन् बढेर गएको पाइन्छ । त्यतिबेला देशभर फोरजी विस्तार भइसकेका कारण ग्राहकलाई उच्च ब्यान्डविथको डाटा दिन टेलिकम सफल बन्यो । सबै मानिस घरभित्रै रहने र अनलाइनबाट काम गर्नुपर्ने भएकाले टेलिकमको सेवाबाट धेरै लाभान्वित हुन पुगे ।

काम गर्न कार्यालय नै जानुपर्छ वा कार्यालयमै हुनुपर्छ भन्ने पुरानो मानसिकतालाई चिरेर घरबाटै काम गरौं भन्ने अवधारणाको विकास त्यतिबेला हुनपुग्यो । टेलिकमले यसलाई सम्भव बनाएको हो । प्रविधिको पहुँच भएमा घरमै बसेर काम गर्न सकिन्छ भन्ने नयाँ युगको सुरुवात गर्न कोभिडले नयाँ अवधारणा नै बसालिदिएको छ ।

सँगसँगै सूचना प्रविधिको पहुँच विस्तारको सुरुवाती युग भनेर कोभिडको समयलाई लिन सकिन्छ । टेलिकमले सूचना प्रविधिमा सबैलाई ल्याउन उच्च ब्यान्डविथको इन्टरनेटहरू उपलब्ध गराएर घरबाटै सबैलाई आफ्नो काममा निरन्तरता दिने आधार तय गरिदिएर अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।

कोभिडले भौतिक रुपमा धेरैलाई नकारात्मक असर पु¥याए पनि सूचना र प्रविधिको क्षेत्रमा सबैलाई जोडेर फड्को मार्ने अवस्थामा पु¥याइदिएको विषय सराहनीय छ ।

तथ्यांकगत अवस्था

२०८० साल चैतसम्ममा १२० प्रतिशत नागरिकसम्म दूरसञ्चार सेवा पुगेको छ । त्यस्तै १४४.५६ प्रतिशत नागरिकले सरकारी वा निजी सेवा प्रदायकबाट सूचना प्रविधिको उपभोग गरिरहेका छन् । आर्थिक हिसाबले आजका दिनमा सूचना प्रविधिको प्रयोग नगरी कुनै पनि काम हुन नसक्ने भइसकेको छ ।

यस्तैमा ७३ प्रतिशत नागरिकसम्म नेपाल टेलिकम पुगेको छ । दूरसञ्चारको बजार हिस्साको आधारमा ग्राहकको हिसाबले टेलिकमको उपस्थिति भ्वाइस क्षेत्रमा ५३ र डाटामा करिब ६० प्रतिशत नागरिकसम्म रहेको छ । टेलिकमले वार्षिक रुपमा २६ अर्ब रुपैयाँ कर र नाफाको ९३ प्रतिशत लाभांश गरी सरकारलाई करिब ३६ अर्ब रुपैयाँ योगदान गरिरहेको छ ।

फाइबर बिछ्याउने काम ६,००० किमीमा सम्पन्न भएको छ । मोबाइल बैंकिङ सेवामा पनि टेलिकमको योगदान उच्च रहेको छ । गुणस्तर सुधार गर्दै नागरिकलाई सुलभ दरमा सर्वसुलभ सेवा दिने लक्ष्यसाथ टेलिकम अगाडि बढिरहेको छ ।

सुरक्षा सतर्कता

साइबर सुरक्षाको विषयमा नेपाल टेलिकम पहिलेदेखि नै सतर्क छ । टेलिकमको प्रणाली र डाटाहरूलाई सुरक्षित राख्न सुरक्षाको सबै उपायहरू अपनाइएको छ । कुनै पनि किसिमको थ्रेट (खतरा) मा टेलिकम रहेको छैन । संरचनागत हिसाबले टेलिकम सुरक्षित छ ।

ग्राहकका गुनासा र सम्बोधन

ग्राहकले लिएको सेवा र उनीहरूको गुणस्तरलाई विचार गरेर टेलिकमले त्यसलाई सम्बोधन गर्न नयाँ नयाँ प्रविधि भित्र्याएको छ । मोबाइल सेवाको गुणस्तर कमजोर भयो भनेर गुनासो बढिरहँदा भौतिक पूर्वाधार निर्माणलाई ध्यान दिएर टावर थप्नेदेखि अन्य पूर्वाधार विकासमा लागिरहेको छ । हाल करिब ७००० टावरबाट टेलिकमको सेवा प्रवाह भइरहेको छ ।

सरकारअन्तर्गत रहेर काम गर्नुपर्ने हुँदा खरिद नियमावलीदेखि सबै नियामक निकायको स्वीकृति र अन्य विविध विषय अवलम्बन गर्नुपर्ने कारण कतिपय योजनामा केही ढिलाई हुने भए पनि टेलिकम ग्राहकका गुनासाको सम्बोधन गर्न लागिरहेको छ ।

‘नेपाल टेलिकम, राष्ट्रको सञ्चार’ भन्ने मूल नारासाथ अघि बढेको हुँदा यदि कोही कसैलाई केही गुनासो भएमा टेलिकमसमक्ष राखिदिएर समस्याको पहिचान गर्ने र समयमै त्यसलाई सम्बोधन हुने दिशामा सहयोग गर्न सबैमा आग्रह गर्दछ ।

यता कतिपय अवस्थामा ग्राहकलाई टेलिकमका धेरै सेवा, सुविधाबारे पर्याप्त जानकारी हुन नसकेको पनि पाइन्छ । त्यसका लागि टेलिकमको एपमा गएर सबै सेवासम्बन्धी विषयहरू जानकारी लिन सकिनेछ ।

नीतिगत र कानुनी सहजीकरणका विषय

टेलिकमको सेवालाई चुस्त दुरुस्त बनाउन नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयसमक्ष नीतिगत र कानुनी सहजीकरणका लागि विषय राखिएको छ । त्यसलाई सम्बोधन गर्ने काम पनि भइरहेको छ । यता कतिपय स्थानमा टेलिकमको स्वीकृतिबिनै अन्य विकास कार्यमा रहेका निकायले केवल तार काटिदिनेलगायत विषयले पनि समस्या देखिने गरेको छ ।

अतः नागरिकको अत्यावश्यक सेवा टेलिकम्युनिकेसनप्रति सबैै संवेदनशील बन्नुपर्ने भन्ने देखिन्छ । टेलिकमले दिइरहेको सेवामा कहीँ कतैबाट अवरुद्ध पार्ने काम हुनुहुँदैन भनेर आवश्यक समन्वय पनि भइरहेको छ । दूरसञ्चार अति आवश्यक सेवा हो भनेर त्यसका संरचनाको संरक्षण गर्नुपर्दछ भन्नेतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्दछु ।

दूरसञ्चारले ल्याएको सहजता र योगदान

आगामी दिनमा आईटी, आईसिटीसँग सम्बन्धित उद्योगलाई प्रोत्साहन गरेर जानुपर्ने आवश्यकता छ । यसै क्षेत्रका कारण जुनसुकै उद्योगलाई स्वचालित बनाइदिएको छ । सामान्य किसानले समेत इन्टरनेटका माध्यमबाट आफ्नो वस्तु बिक्री वितरण गर्न सक्ने बनिसकेको छ ।

इन्टरनेटकै कारण विश्व बजारसम्म उपस्थित हुनसक्ने स्थिति बनेको छ । मूल्यमा गणना हुन नसके पनि टेलिकम क्षेत्रबाट राज्यको जीडीपीमा थप योगदान पुगिरहेको छ । त्यसैले पछिल्लो समय दूरसञ्चार क्षेत्र अर्थात् सूचना, प्रविधि र टेलिकम्युनिकेशनबिना अर्थतन्त्र नचल्ने स्थिति भइसकेको छ यसलाई अझै बढावा दिनुपर्दछ ।

निष्कर्ष

कुनै पनि कम्पनीले शतप्रतिशत काम गरेमा प्रगतिको बाटो रहँदैन । त्यसैले नेपाल टेलिकमले आफ्नो सम्पूर्ण प्रयासलाई जारी राखेर सेवा दिइरहेको छ । नागरिकलाई दूरसञ्चार सेवा एवं मोबाइललगायत थाहा नभएको स्थानबाट घरघरमै बसेर इन्टरनेट सेवा प्रयोग गर्ने र आर्थिक क्रियाकलापमा संलग्न हुने वातावरण टेलिकमले सबै नागरिकलाई उपलब्ध गराएको छ ।

विस्तारै ग्राहकहरू सूसुचित भएर यो सेवा प्रयोग गर्नैपर्ने रहेछ भनेर आफैं बुझ्दै प्रयोग बढाउँदै लगेका छन् । सर्वसाधारणहरू प्रविधिसँग अभ्यस्त हुँदै गएका छन् । कम्युनिकेसन र यहाँ भएका प्रविधिको प्रयोगबाट नागरिकको स्तर बढेर गएको छ । यही नै नेपाल टेलिकमको खुसी हो ।

प्रविधिको सुधारमा टेलिकम सधैँ लागिरहेको छ । आगामी दिनमा ग्राहकको रुचि र चाहनाअनुसारका कम्युनिकेसन सेवा उपलब्ध गराउने काममा कम्पनीले आवश्यक अध्ययन गरिरहेको छ । अहिले उच्च गतिको इन्टरनेटको खोजी देशैभरबाट भइरहेको छ । यस्तै मागका आधारमा टेलिकमले नयाँ काम गरिरहेको छ ।

फाइबर नेटवर्कको हिसाबले देशका आधा भूभाग र मोबाइलका हिसाबले ७५३ स्थानीय तहमध्ये ७५० भन्दा बढीमा टुजी/थ्रीजी तथा फोरजी सेवा विस्तार भइसकेको छ । यति भन्दै गर्र्दा जनतालाई दिँदै आएको सेवालाई अझै बढी परिस्कृत र अझै बढी विस्तार गरेर जानुपर्दछ ।

सेवालाई परिस्कृत गराएर सबैको पहुँचमा सूचना, प्रविधि पु¥याउन र अर्थतन्त्रमा योगदान बढाउने हिसाबले काम गर्न टेलिकम सधैं तयार छ । ०००

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्