नीतिगत सुधार र पूर्वाधार पर्यटनको जग
विनायक शाह
अध्यक्ष, होटल संघ नेपाल (हान)
प्रकृतिले संसारभर भएका र संसारमा अन्त कहीँ पनि नभएका सबै सम्पदा दिएर नेपाललाई समृद्ध बनाएको छ । हिमाल, ट्रेकिङ, जलयात्रा, रहनसहन, खानपान, संस्कृति, वनजंगल, वन्यजन्तु, सिमसारलगायत सबै कुरा हामीसँग छन् । सबै विषयले भरिपूर्ण पर्यटन क्षेत्रले आर्थिक, सामाजिक, जनजीविकाका सवालमा प्रत्यक्ष योगदान गर्ने भएकाले यो देशको सबलता हो ।
यता दुई ठूला देश भारत र चीनको बीचमा नेपाल रहेको छ । उनीहरूको अगाडि औद्योगिक उत्पादन र व्यवसायको क्षेत्रमा आकारका हिसाबले प्रतिस्पर्धा गर्न सकिँदैन ।
हामीले त्यस्ता क्षेत्रको लगानीबाट सीमितमात्रामा प्रतिफल लिन सकिनेछ । तर नेपाल सानो देश भए पनि पर्यटनमा भएका सम्भावनालाई हेर्दा छिमेकी दुई ठूला देशले पनि प्रतिस्पर्धा गर्न सक्दैनन् । अरु देशमा नभएका जीवजन्तु, प्रकृति, रहनसहन, संस्कार, गन्तव्य हामी कहाँमात्रै हुँदा पर्यटन हाम्रो सम्भावना नै सम्भावना भएको क्षेत्र हो ।
समयसापेक्ष नीति पहिलो आवश्यकता
नेपालको धेरै सक्षमता हुँदाहुँदै पनि वि.सं.२०८० मा आएर बल्ल देशले दश लाख पर्यटक आउँदा खुसी हुनुपर्ने स्थिति बनेको छ । क्षमताको हिसाबले हेर्दा आजका दिनमा ५० लाख पर्यटकको आगमन पार गरिसक्नुपर्दथ्यो । भनाइको अर्थ सम्भावना र क्षमताको केही प्रतिशतमात्रै हामीले उपयोग गरिरहेका छौं ।
यसको मूल कारण प्रभावकारी नीति नियम नहुनु र भएका पनि कागजमा मात्रै सीमित भइदिँदा समस्या देखिएको हो । हामीकहाँ २०३५ सालको पर्यटन ऐन आजसम्म जीवित छ । पर्यटनको अवधारणामा नै आकाश जमिनको परिवर्तन भइसकेको अवस्थामा आजभन्दा ४५ वर्षअगाडि बनेको ऐनको आधारमा अहिले पनि चल्नु परेको छ ।
यता नेपालले सन् २०१६–२०२५ को लागि भनेर युएनसँग मिलेर पर्यटन विकासका कार्यनीतिहरू तयार गरेको छ । त्यो पनि कार्यान्वयन सिथिल छ ।
दशकमा पर्यटन
वास्तवमा भन्ने हो भने पर्यटन क्षेत्र स–साना घटनाले पनि प्रभावित हुनेछन् । वि.सं. २०७२ को भूकम्प, विश्वव्यापी कोभिडको मार पछिल्लो दशकमा रह्यो । यसले पर्यटनको भविष्यलाई अन्योल बनाए पनि पुनः लयमा फर्किएको छ । यसो भनिरहँदा पर्यटकले नेपाल आएर बढीभन्दा बढी समय बस्ने र खर्च गर्न सक्ने स्थिति बनाउनु अबको चुनौती हो ।
अहिले पर्यटकले ४० देखि ४८ डलर प्रतिदिन खर्च गरेर बसेको पाइन्छ भने माउन्टेन ट्रेकिङ जाँदासमेत जोड्दा सरदर जम्मा १२ दिनसम्मको बसाइ हुने गरेको छ । विमानस्थल, बाटो घाटोलगायत संसारबाट नेपाल जोडिने पूर्वाधार बनाएर पर्यटकलाई लामो समय यहाँ व्यतित गराउने अवस्था हुने हो भने यसमा धेरै सुधार हुनेछ ।
विगतदेखि नै सस्तोमा जीवनयापन गर्ने पर्यटकको रुचिअनुसारको गन्तव्य नेपाल बनिरहेको छ । लोन्ली प्लानेट भन्ने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्लगले जीवन पर्यन्त नगई नहुने गन्तव्य नेपाल हो भन्दछ तर सँगै सस्तो गन्तव्य भनेर विरोधाभास विषय राखिदिएको छ । त्यसैले अब सबै पूर्वाधार र वातावरण बनाएर पर्यटनलाई मजबुत बनाउन सबै लाग्नुपर्दछ ।
यहीबीच सन् २०२३–२०३२ लाई पर्यटन दशकको रुपमा मनाउने सरकारले निर्णय ग¥यो । तर बजेट, सचिवालय, कार्यक्रम केही पनि छुट्ट्याएको छैन । एक वर्षको समय व्यतित भइसक्दा पनि सरकारलाई दशक कहाँ छ भन्ने थाहा नहुने जस्तो स्थिति बनिसकेको देखिन्छ ।
त्यस्तै कोभिडका बेला सरकारले आफ्ना कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिने भने पनि कार्यविधिको ‘क’ समेत उच्चारण नगरेर कार्यक्रम सकियो । कोभिडका कारण कतिपय देशले पर्यटनलाई बन्द गर्दासमेत नेपालले एक महिनाका लागि भिसा फ्रि दिने साहसिलो निर्णय गरेर नेपाल घुम्न आउन आह्वान गरिरह्यो । तर त्यसको कार्यान्वयन तह ज्यादै फितलो बन्दा केही हुन सकेन ।
निजीक्षेत्रको सक्रियता र सक्षमता
आजको दिनमा जति पनि पर्यटक आउने अवस्था बनेको छ यसको सबै श्रेय निजी क्षेत्रलाई जानेछ । निजी क्षेत्रले एकपछि अर्काे गर्दै ३५ लाख पर्यटक राख्नसक्ने क्षमता तयार गरिसकेका छन् । सातै प्रदेशमा तारे होटलसँगै पर्यटनका अवसरहरू सिर्जना भएका छन् ।
एकजुट भएर अझै यसलाई व्यवस्थित गर्न सकिनेछ । अहिले काठमाडौंको विमानस्थलले १० लाख पर्यटक ल्याउन सक्ने क्षमता देखाइसकेको छ । योभन्दा एक÷डेढ लाख थप पर्यटक ल्याउनसक्ने क्षमता यो विमानस्थलले राख्ला तर बाँकी गाह्रो छ । त्यस्तै क्षमताका पोखरा र भैरहवा विमानस्थलको व्यवस्थित सञ्चालन र मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनीलगायतमा भइरहेको सडक विस्तारको काम छिटो सक्ने हो भने अहिलेको पर्यटक आगमनलाई दोब्बर पार्न सकिनेछ ।
पर्यटक दोब्बर हुनासाथ सबै क्षेत्रमा लाभ दोब्बर हुन जानेछ । किसान, यातायात, बैंक, एयरलाइन्ससहितको आम्दानी र सरकारको राजश्व बढ्नेछ । मुख्यरुपमा पछिल्लो समय आईटी, जलस्रोत, पर्यटनमार्फत देशको कायापलट गर्न सकिनेछ भनेर लाग्नुपर्छ ।
भूकम्प र कोभिडजस्ता विपद्ले सिकाएको पाठ
पर्यटन संवेदनशील क्षेत्र हो । कुनै घटना घटेमा पर्यटकले आफ्नो भ्रमण रद्द गरिहाल्नेछन् । यस्तैमा वि.सं. २०७२ को भूकम्पले पर्यटनसहित सबै क्षेत्रमा ठूलो निराशा ल्याइदियो । धेरै ठूलोमात्रामा जन र धनको क्षति भयो । तर पनि विनासकारी भूकम्पले नकारात्मक हिसाबले नै भए पनि विश्वव्यापीरुपमा नेपालको प्रचार गरायो ।
नकारात्मकसँगै नेपालको प्रकृतिबारेमा पनि ठूलोमात्रामा प्रचार भयो । त्यतिबेलाको एउटा घटना न्यूजिल्याण्डको एक युवा पत्रकारले धुलिखेलमा रिपोर्टिङ गरिरहँदा एकजना बूढीआमा खुल्ला ठाउँमा बाहिर बसिरहनुभएको थियो । घर भत्किएर आमाको परिवारका सबैको निधन भएको र बस्ने बास थिएन । उहाँ दाताले दिएको चाउचाउ खाइरहनुभएको थियो ।
त्यतिकैमा ती बूढीआमाले न्यूजिल्याण्डका ती पत्रकारलाई आफूले खाइरहेको चाउचाउले सत्कार गर्नुभएको दृश्य संसारभर भाइरल हुनपुग्यो । त्यो परिघटनाले नेपालीको ठूलो मन र आतिथि सत्कारलाई झल्काइरहेको छ । विश्व सम्पदा सूचीमा समाविष्ट सम्पदा बिग्रेका कुरा पनि त्यतिबेला देखाइए ।
यहीबीचमा यी सबै क्षेत्रमा समस्या आउँदा पनि अरु देशको तुलनामा नेपाल चाँडै उठेको अवस्था छ । विदेशीको माया, साथ, सहयोगले पनि २०७४/०७५ सम्ममा नेपाल पुरानै अवस्थामा फर्किन सम्भव बनेको हो । त्यस्तै कोभिडमा संयम भएर नेपाल उभिएका कारण सन् २०२३ सम्ममा नेपालको पर्यटन पुरानै लयमा फर्किसकेको छ ।
नेपालीको सबलता र पहिचान यी विपद्पछिको अवस्थाले प्रमाणित गरेको छ । समस्या आए पनि समाधान गर्न नेपाली आँटिला छन् । यति हुँदाहुँदै पनि सरकार र निजी क्षेत्रबीच हुनुपर्ने सहकार्य, सरकारको खेल्नुपर्ने भूमिका सोचेअनुरुप नहुनु र पर्यटनका कुरा भाषणमा मात्रै सीमित हुँदा समस्या छ ।
बुझ्नुपर्ने कुरा प्रकोपलाई रोक्न सकिन्न तर साबधानी अपनाउन र विभिन्न तयारी गर्न सकिनेछ । अहिले यदि प्रकोप आइहालेमा सबैभन्दा पहिला कसरी टिक्ने भनेर अभ्यास र सुरक्षाका प्रबन्ध पर्याप्त गरिएको छ । भावनात्मक विषयहरूबारे ज्ञान भएको छ ।
बिसिजी अर्थात् बिजनेस कन्टिन्यूटी प्लान भनेर विदेशी दाताहरूको सहयोगमा पर्यटकलाई विश्वस्त बनाउने अभ्यास थालिएको छ । भूकम्प, आगलागी जेसुकै विपद् भए पनि नआत्तिकन योजनाअनुरुप तोकिएको केन्द्रमा जम्मा हुने र त्यसपछि खानपानसहित अरु मनोवैज्ञानिक परामर्शलगायतका काम यो योजनामा समाविष्ट छ ।
तत्काल के गर्ने, एक दिन वा एक महिनासम्म के गर्ने भन्ने योजना त्यसमा रहेको छ । गृह मन्त्रालयअन्तर्गत पनि प्रशस्तै गृहकार्य भएको छ । यी विषय प्रचारप्रसार गर्न सकेमा अझै बढी पर्यटक नेपाल भित्र्याउन सकिन्छ । यो विश्वास दिलाउनु यतिबेलाको आवश्यकता हो ।
दशकमा चुकेको पक्ष
यहाँ मन्त्री, सचिवले चाहेमा सहजरुपमा धेरै काम हुनसक्नेछ । यदि अहिले भनेजस्तै पर्यटन दशक मनाउने हो भने सातै प्रदेशले एक वर्षमा एउटा प्रदेशका गन्तव्यको प्रवद्र्धन, प्रचार प्रसार गर्ने र आन्तरिकसहित बाह्य पर्यटनलाई अगाडि बढाउने योजना बनाउन सक्नेछन् । यसमा तीनै तहका सरकारले एकीकृत हिसाबले कार्य गर्नुपर्दछ ।
मन्त्रालय–मन्त्रालयबीच सहकार्य गरेर काम गर्ने राष्ट्रियस्तरको सरकारी प्रण हुनुपर्दछ । बजेट, मौद्रिक नीतिले पर्यटनका कार्यक्रमलाई छुनुपर्दछ । यहाँ शेर्पा, ब्लुस्टार, नारायणीलगायत होटल बन्द भएर त्यो ठाउँमा व्यापारिक कम्प्लेक्स चलिरहेका छन् ।
लगानीकर्ता अन्यत्र लागे तर यसले देशको ठूलो व्यावसायिक होटल सञ्चालनको अभ्यास बन्द हुन पुगेको छ र काम गर्ने मानिस पलायन भइरहेका छन् । यतिबेला नेपालमा २० वटा पाँचतारे होटल सञ्चालन इजाजतमा छन् । थप दुई वर्षमा अरु २० थपिँदैछन् । नयाँ होटल थपिँदै जाने पुराना बन्द हुने । यो राम्रो होइन ।
ती संरचना आवश्यकतामा आधारित हो कि होइन भन्ने सरकारले ख्याल गर्नुपर्दछ । मौजुदा स्थितिको सूक्ष्म अध्ययन गरेर अगाडि बढ्दा देश, जनता र समाजलाई फाइदा पुग्नेतर्फ हेर्नुपर्छ । आज पूर्वाधार उपलब्ध गराउन नसकिएको स्थितिमा आवश्यकताभन्दा बढी होटल पूर्वाधार बनिरहँदा अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालले फाइदा लिन सकिरहेको छैन । अतः मागअनुरुप आपूर्ति संरचना विकासमा ध्यान दिनुपर्दछ ।
पछिल्लो दशक त्यति सन्तोषप्रद रहेको छैन । योभन्दा धेरै कार्य गर्न सकिनेछ । मुख्य कुरा पर्यटकले गरेको खर्च राष्ट्रको रेकर्डमा आउने प्रणाली विकास हुन सकेन । त्यसो भए पर्यटनबाट हुने योगदान बुझ्न सकिन्थ्यो । दिवंगत मन्त्री रवीन्द्र अधिकारीले स्याटेलाइट तथ्यांक संकलन गर्ने हो भने पर्यटन क्षेत्रको योगदान १० प्रतिशत देखिने भन्नुभएको थियो ।
आज सरकारी तथ्यांक ३.२ प्रतिशत रहेको छ । विश्व बैंकले नेपालको जीडीपीमा ७.९ प्रतिशत योगदान रहेको भनेको छ । तथ्यांक केलाइरहँदा पर्यटकले प्रतिदिन गर्ने खर्च बढाउनुपर्दछ । अहिले १८ खर्ब रुपैयाँभन्दा बढीको लगानी, ३० प्रतिशत महिलासहित ११ लाखभन्दा बढीलाई रोजगारी, प्रतिदिन १० हजार सुविधासम्पन्न बेडसहित गाउँ–गाउँमा होमस्टेमार्फत सेवा दिनेगरी पर्यटनमा धेरै सुधार भएका छन् ।
अब नीतिगत सुधार गरेर प्राप्त गर्ने प्रतिफल बढाइनुपर्दछ । निजी क्षेत्रहरू होटललगायत पूर्वाधार बढाउने, अन्तर्राष्ट्रियस्तरमा सेवा दिने, पर्यटन गतिविधि बढाउने काममा सक्रिय छन् । बाह्य पूर्वाधार निर्माण रनीतिगत एवं वातावरण निर्माण गर्ने काम सरकारको हो । सरकारले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण बनाए यो क्षेत्र माथि जानेछ ।
आगामी दशकमा ५० लाख पर्यटक
अहिले नै १० लाख पर्यटक आउँदा नेताहरूले यसलाई सफल भनिरहेका छन् । त्यो पहिलेभन्दा राम्रो भए पनि ३५ लाख राख्नसक्ने अहिलेको क्षमताका आधारमा एक तिहाइमात्रै पर्यटक आउँदा ठूलो मान्न सकिन्न ।
निर्माण सम्पन्न दुईवटा विमानस्थल सञ्चालन नहुनु, बाटो घाटो अस्तव्यस्त हुनु, नीतिमा सहजीकरण नहुनुलगायत भित्री विषय गौण राखेर कुनै एउटा कुरामात्रै उचाल्नु ठीक होइन । त्यसैले निर्माण सम्पन्न भएका भैरहवा र पोखरा विमानस्थललाई चिनियाँ र भारतीय शहरमा जोडिदिएमात्रै पनि सहजै अहिलेभन्दा दोब्बर पर्यटक भित्रिनेछन् । त्योअनुरुप गृहकार्य गर्न लाग्नुपर्नेछ ।
सक्षम साझेदार खोजेर भए पनि ती विमानस्थल सञ्चालनमा ल्याउनुपर्दछ । आगामी दशक वि.सं. २०८०/०९० मा नेपाल विश्वकै महत्वपूर्ण गन्तव्य हो भनेर संसारभरबाट वर्षमा ५० लाख पर्यटक आउने थलो बनाउन सबैले पहल गर्नुपर्छ । भारत र चीनका लागिमात्रै भनेर विशेष प्रवद्र्धन र आवश्यक वातावरण निर्माण गर्ने हो भने त्यो सहजै पूरा हुनेछ ।
वर्षको तीन महिना होलिडे मनाउन भारतका धेरै धार्मिक पर्यटक सडकमार्फत नेपाल आउन चाहन्छन् । त्यसैले सहज हिसाबको सडक र सीमा नाकाबाटै पर्यटकलाई सहजीकरण गर्दै प्रविधिमैत्री वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ । जति योजना र कार्यक्रम बन्दछन् ती साना भए पनि त्यसको पूर्ण कार्यान्वयन हुनुपर्दछ ।
अबको दशकमा मध्यपहाडी लोकमार्गलाई आधार मानेर हिल स्टेसनहरूको विकासबाट लाखौं धनाढ्य भारतीय परिवारलाई बिदा मनाउने विकल्प दिन सकिन्छ । यसतर्फ उपयुक्त सञ्चालन र करको नीति बनेमा भारतीयहरू नै संयुक्त लगानी गर्न अग्रसर रहेका छन् ।
यसकै आधारमा हिमाली क्षेत्रहरूमा युरोप अमेरिकाका धनाढ्यलाई अल्पाइन बिदाका विकल्पहरू दिन सकिने छ । आउँदो लगानी सम्मेलनमा सातै प्रदेशमा कमसेकम एक वटा मेगा पर्यटन प्रोजेक्टमा विदेशी लगानी र प्रविधि आह्वान हुनुपर्छ । २०८१ बाट प्रारम्भ हुने १६ औं पञ्चवर्षीय योजनामा पनि यी विकासे योजना समावेश रहने अपेक्षा छ ।
नेपालमा आगामी दशकमा हुने गतिविधिमा आधारित पर्यटकीय अवधारणाअनुरुप पर्या, खेलकुद, स्वास्थ्यय, पकवान, माइस, गन्तव्य विवाहजस्ता कार्यले प्रश्रय पाउनु दीर्घकालीन विकासको वाहकसिद्ध हुनेछ ।
पर्यटनमा सँगसँगै
आज सबैका आ–आफ्ना व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको हितमा सबै लाग्नुपर्दछ । पहिलेभन्दा धेरै सुधार भए पनि समष्टीगतरुपमा नीतिगत सहजीकरण हुने हो भने बढी लाभ लिन सकिनेछ । पर्यटन दीर्घकालीन काम हो । केन्द्र, प्रदेश र स्थानीय सरकारले पर्यटन क्षेत्रमा एउटै कुरा बोल्नुपर्दछ ।
स्थानीयको रोजगारीदेखि, उत्पादनको खपतसम्मका विषयलाई नीतिगतरुपमा सम्बोधन गरिनुपर्दछ । अहिले रेमिट्यान्सबाटै मुलुक चलिरहेको छ । यो गर्व गर्ने विषय होइन । हरेक दिन दुई हजार, पच्चीस सयभन्दा बढी नेपाली देशमा सम्भावना नदेखेर बाहिरिएका छन् । पर्यटन क्षेत्रले देशैभरबाट यसलाई रोक्न सक्दछ ।
सातै प्रदेशमा कोही कसैलाई समस्या परे सरकारले हेर्छ भनेर प्रत्याभूति दिएर काम गर्ने हो भने स्वदेशी, विदेशी लगानीसहित नयाँ नयाँ गन्तव्यको सिर्जना र नयाँ हब बनाएर पर्यटनमा नयाँ काम हुनसक्दछ । उद्योग खोलेमा प्रतिफल लिन धेरै वर्ष कुर्नुपर्दछ तर पर्यटन छोटो समयमै आर्थिक समृद्धि दिने क्षेत्र हो ।
पर्यटक नेपाल आउनेबित्तिकै भिसा, ट्याक्सी, यातायात, पसल, बैंक, खानादेखि सबै क्षेत्रमा खर्च गर्छन् । त्यसले समृद्धिमा सहयोग गर्न थालिहाल्नेछ । विश्व व्यापार संगठनको तथ्यांकअनुसार एउटा पर्यटक आउँदा प्रत्यक्ष/अप्रत्यक्षरुपमा ११ वटा रोजगारी सिर्जना हुनेछ । त्यसैले विविध क्षेत्रमार्फत फाइदा लिन पर्यटन नै एकमात्र विकल्प हो । सबैले एउटै लक्ष्य र उद्देश्य बोकेर राष्ट्रिय संयोजनमार्फत योजनाबद्ध काम भएमा पर्यटनमार्फत छिटो फड्को मार्न सकिनेछ । ०००
प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार