अन्योलतामा गुज्रिएको नाडा अटोमोवाइल्स क्षेत्र
करण चौधरी
अध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल
नेपालको अर्थतन्त्र विकासमा अटो क्षेत्रको योगदान ठूलो रहे पनि राज्यको सही नीतिनियम हुन नसक्दा एकपछि अर्काे गर्दै खस्किन पुगेको छ । कतै उत्साह, कतै निराशा यस्तैगरी पछिल्लो समय अटो क्षेत्र अन्योलमा गुज्रिरहेको छ ।
अधिकांश भूभाग हिमाल र पहाड रहेको नेपालका लागि आवतजावत र ढुवानीमा अटोमोटिभ क्षेत्रमात्रै प्रमुख विकल्प भए पनि राज्यले विलासिताका वस्तुमा मात्रै ध्यान दिने प्रवृत्तिले समस्या झन्झन् बढिरहेको छ ।
नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को प्रयोग बढ्दै जाँदा उत्साह पनि थपिएको छ । यसलाई दीर्घकालीन गराउनुपर्ने खाँचो छ । विभिन्न किसिमका सवारी गरी नेपालको सडकमा ३५ लाखभन्दा साधन गुडिरहेका छन् ।
राज्यको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १४ प्रतिशत योगदान गर्ने यो क्षेत्रले पछिल्लो दशक ठूलै फड्को मारेको पनि छ । तर अटोमोवाइल्स क्षेत्र जुन रुपमा विकास हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
आज विशुद्ध अटोमोवाइल्ससँग सम्बन्धित व्यवसायी, आयातकर्ता, उत्पादक, एसेम्बल्स, पार्टस्, लुब्रिकेन्ट्स, टायर, व्याट्रीलगायतमा संलग्न साढे ३ हजार व्यवसायीमध्ये अधिकांशको व्यवसाय धरासायी बनिसकेका छन् ।
अटोमोटिभ क्षेत्रले ९० अर्ब रुपैयाँ बराबरको राजस्वमा योगदान दिने गरेकोमा पछिल्ला केही वर्षयता ३० अर्बभन्दा कममा झरिसकेको सन्दर्भ अर्काे चिन्ताको विषय बन्न पुगेको छ ।
नाडा अटोमोवाइल्स क्षेत्रको दश वर्षे समीक्षा
अटोमोबाइल्स क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ठूलो योगदान गर्छ । प्रत्यक्ष वा अप्रत्यक्षरूपमा १ लाखभन्दा धेरै नेपालीलाई रोजगारी दिएको छ । यो महत्वपूर्ण क्षेत्रको गहन जिम्मेवारी नाडाले संगठित रुपमा बहन गरेको छ ।
स्थापनाकालदेखि नै नाडाले नेपाली अटोमोटिभ व्यवसायको प्रवद्र्धन र प्रभावकारी रूपमा देशको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता लिएको छ । संगठित हिसाबले अटोमोबाइल्स क्षेत्रको हकहितको लागि नियमितरुपमा नाडाले सरकारी निकाय र अरु सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै आएको छ ।
पछिल्लो दश वर्ष अगाडिभन्दा अहिले एउटा संगठनको रुपमा नाडाले मजबुत रुप लिएको छ । हाम्रो आवाजलाई सरोकारवालाले गम्भीररुपमा लिनुको साथै अटोमोवाइल्स क्षेत्रबारे नीतिनियम बनाउन र कार्यान्वयन गर्न नाडाको योगदानलाई प्राथमिकता दिएका छन् ।
नाडा थप बलियो हुनुमा यसको प्रादेशिक संरचना पनि हो । यसबाट आज हामी नेपालभरि फैलिएका सम्पूर्ण अटो व्यवसायीसँग जोडिन पुगेका छौं । सबैको समस्या र सुझावलाई सशक्तरुपमा अगाडि बढाएका छौं । आफ्नो जिम्मेवारीअनुरुप नाडाले थुप्रै सडक सुरक्षा कार्यक्रम चलाउँदै आएको छ ।
अटोमोटिभ व्यवसायको सीप विकास गर्न विभिन्न कार्यशाला, प्रशिक्षण र सूचनामूलक कार्यक्रम पनि चलाउँछ । पछिल्लो समय अटोमोबाइल्स क्षेत्र निकै भयावह स्थितिमा छ । देशभरका व्यवसाहीमा एक हिसाबले उठिबास हुनेजस्तो स्थिति आएको छ ।
यो समस्या स्थानीय तहमा अझै विकराल बनिरहेको छ । यो नाडाको लागि ठूलो चिन्ताको विषय हो । यता विद्युतीय सवारीमा सरकारले दिएको लचकता निकै नै सराहनीय छ तर इन्धन सवारीको बिक्रीमा सहजता ल्याउन र यसको समस्याबारे नाडाले विभिन्न तहमा ध्यानाकर्षण गराएको पनि छ ।
आज मौद्रिक नीतिमार्फत अटो कर्जासम्बन्धी रिस्क्क वेटेजलाई शतप्रतिशतमा ल्याउनु एउटा सकारात्मक कदम हो । तर समग्र अटो क्षेत्र एउटा उत्पादनशील क्षेत्र हो भन्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नाडा अझै आगाडि बढ्नुपर्नेछ ।
सम्पूर्ण अटोमोबाइल्स क्षेत्रको वान स्टप सोलुसन (एउटै मात्र समाधान) बन्न सफल भएको र आगामी दिनमा अटोमोबाइल्स क्षेत्रको हकहितको लागि नियमित रुपमा नाडा आगाडि बढ्दै जानेछ ।
वर्तमान अवस्था
पछिल्लो समय नेपाली अटोमोबाइल व्यवसाय निकै नै कठिन अवस्थामा छ । अटोमोवाइल्स क्षेत्रमा नभई अहिले हरेक व्यवसायी पीडामा छन् । आर्थिक मन्दीको असर सबैतिर छ ।
देशमा डलर सञ्चिती कायम राख्नुपर्ने भन्दै सरकारले सुरुमा लगाएको आयात प्रतिबन्ध, आयात खुकुलो भए पनि कर्जा प्रवाह हुन नसक्नु, नीतिगत रुपमा इन्धन सवारीमा रिस्क वेटेजलाई १२५ प्रतिशत राख्नु (हाल शतप्रतिशत), डाउन पेमेन्ट ५० प्रतिशत (इन्धन सवारी साधनमा) रहिरहनु, चर्को ब्याजदर र देशमा अहिले चलिरहेको आर्थिक मन्दीले सम्पूर्ण अटो क्षेत्र निकै प्रभावित भएको हो ।
आज अटो व्यवसायीहरूले बैंकको ब्याजसम्म तिर्न नसक्ने स्थिति बनिसकेको छ । व्यवसायी आफ्नो व्यवसायबाट मात्र होइन, देशबाटै पलायन हुने अवस्थाको सिर्जना भएको छ । माथि भनेजस्तै विद्युतीय सवारीमा सरकारले दिएको लचकता राम्रो छ ।
आगामी दिनमा पनि यसलाई यथावत राख्नु पर्छ भन्ने हाम्रो भनाइ हो । अब सम्पूर्ण अटो क्षेत्रलाई चलायमान गराउन सबैभन्दा पहिला सरकारको ध्यानाकर्षण हुन जरुरी छ । म अझै भन्छु अटो क्षेत्र अनुत्पादक क्षेत्रको रुपमा हेर्ने दृष्टिकोण गलत हो ।
यसले व्यवसायीमात्र होइन, सम्पूर्ण ग्राहक मारमा परेका छन् । यसलाई सच्याएर अत्यावश्यक साधनको रुपमा लिन जरुरी छ ।
अटो क्षेत्रको अबको जमाना
अहिले नेपाली अटो क्षेत्रमा विद्युतीय सवारीको निकै आकर्षण बढेको छ । विद्युतीय गाडी वा पेट्रोलियम भन्ने चर्चाको विषय हो । यसमा कुनै शंका छैन । वैकल्पिक ऊर्जा त्यो विद्युतीय होस् या अरु कुनै, त्यही नै अटो क्षेत्रको भविष्य हुनेछ । तर पूर्णरूपमा विद्युतीय सवारीमात्र हो भन्ने स्थिति अहिले छैन ।
अझै पनि यसको पूर्वाधार विकास चाहेअनुरुप हुन सकेको छैन । त्यसो भन्दैमा केही नभएको भने होइन । विकास हुँदैछ, अझै शतप्रतिशत हुन समय लाग्छ । सरकारको नीति र सवारी खरिद गर्ने वातावरण सहज भएमा समग्र अटो क्षेत्रको भविष्य उज्वल हुने छ ।
नेपालमै गाडी उत्पादन हुनु
हुन्डाई कम्पनीले भर्खरै उद्घाटन गरेको एसेम्बल प्लान्ट नेपाली अटो क्षेत्रको लागि महत्वपूर्ण कदम हो । तर अझै पनि यो विषयमा नीति स्पष्ट र स्थिर छैन । त्यसैले आगामी दिनहरूमा अरु ब्रान्डका सवारीको प्लान्ट स्थापना गर्न सरकारी तवरबाट नीतिगत स्थिरता र सहजीकरणका विषयमा ध्यान जानु जरुरी छ ।
नीतिगत सुधारमा पक्षहरू
जुनसुकै क्षेत्र किन नहोस् सबैभन्दा पहिला राज्यको नीति स्थिर हुनुपर्दछ । त्यस्तै अबको अर्को पाँच वर्षमा के हुने भन्ने प्रश्नको उत्तर दिने प्रष्ट मार्गचित्र हुन जरुरी छ । यसैगरी अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन भन्ने धारणा राज्यले लिनु जरुरी छ । त्यसपछि नीतिगत रुपमा सुधार आउने छ ।
अहिले विद्युतीय गाडीमा सरकारले लचकता देखाएको छ यसलाई स्थिर राख्नु पर्दछ तर योमात्र होइन सम्पूर्ण अटो क्षेत्रलाई चलायमान गर्ने नीति ल्याउन जरुरी छ । हामीले पेट्रोलियममा भन्सार घटाउनुपर्दछ भनेका छैनौं तर अटो कर्जा खुकुलो गर्न जरुरी छ भनेका छौं । ग्राहकलाई स्वतन्त्र रूपमा गाडी खरिद गर्ने विकल्पहरू बनाइदिनुपर्छ भन्ने नाडाको माग हो ।
सडक सुरक्षासँगै सरोकारवालाको भूमिका
सडक सुरक्षा अहिलेको अवस्थामा निकै ठूलो विषय हो । पछिल्लो समय नाडाले सरोकारवालाहरूसँग समन्वय गरी सडक सुरक्षा सम्बन्धित विभिन्न कार्यक्रम चलाएको छ ।
अहिलेको बढ्दो सहरीकरणसँगै सडक सुरक्षा चुनौती बढेको छ । पर्याप्त सडक सुरक्षाका लागि सबैभन्दा पहिला संरचनाको अभाव छ । हाम्रो सडक पूर्वाधार अझै पनि विकासको चरणमै छ । नागरिकको हैसियतमा हामी आफैंले पनि यसमा ध्यान दिइरहेको पाइँदैन ।
सडक पूर्वाधार र सुरक्षा प्रणालीहरूको विकास गर्न जरुरी छ । त्योसँगै जनचेतनामूलक कार्यक्रमको सञ्चालन पनि उत्तिकै आवश्यक छ । त्योभन्दा पनि हामी आफूले आफैंलाई परिवर्तन गरी सडक सुरक्षासम्बन्धी विषयमा जिम्मेवार हुनुपर्छ ।
अटो क्षेत्रको आगामी योजना
नाडा अटोमोटिभ क्षेत्रका आयातकर्ता, पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ब्याट्री व्यवसायीसहित पछिल्लो समय नाडाका सदस्य वृद्धि हुँदै गएका छन् । यी सबै सदस्यको हित संरक्षण गर्ने मुख्य नारा लिएर नाडाले आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । यहाँ साना पाटर््स पसलदेखि ठूलाभन्दा ठूला आयातकर्ता कम्पनीका आ–आफ्नै किसिमका समस्या छन् ।
नाडा अटोमोवाइल्स क्षेत्रको छाता संस्था भएकाले हाम्रा व्यवसायीलाई साना या ठूला भनेर नछुट्याइकन सबैको साझा संस्था बनाएर सोहीअनुरुप सबैका समस्या समाधान गराउन हाम्रो ध्यान केन्द्रित छ । सदस्यहरूका हितका लागि राज्यपक्षसँग बसेर लबिङ गरेर सहजीकरण गर्ने काम नै नाडाले गर्दछ ।
नीति निर्माण र सरकारसँग लबिङ गरेर यो क्षेत्रलाई माथि उठाउने कार्यमा निरन्तर लाग्ने पक्षमा नाडा प्रतिबद्ध रहेको छ । मुख्यत अटोमोवाइल्स क्षेत्रको उत्थानका लागि व्यवसायीले मात्र पहल गरेर नहुने भएकाले सरकारले नै सहयोग गरेर समृद्धिको यात्रामा सँगसँगै अगाडि बढ्नुपर्ने देखिन्छ । ०००
प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार