किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी


 


काठमाडौं, ९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानको पैसा दसैँ अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले दुग्ध किसानको एक अर्ब २७ करोड र उखु किसानको एक अर्ब ३० करोडसहित सबै रकम दसैँ अगाडि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । 

‘‘दुग्ध किसानले पाउनुपर्ने बक्यौता रकम उपलब्ध गराउन सुरु भएको छ। भाद्र ८ सम्म मसान्तसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको छ। बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्‍याइने छ। यसको दीर्घकालीन समाधान गरिनेछ’, उहाँले भन्नुभयो,  ‘‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ। दसैँअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ।’

उहाँले उत्पादक र उपभोक्ता बिच रहेको ठुलो खाडल हटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि अब स्थानीय सरकारसँगको समन्वयमा कृषक बजार (हाट) अघि बढाइने छ। जहाँ स्थानीय उत्पादनलाई मात्र प्रोत्साहन गर्ने मन्त्री अधिकारीले बताउनुभयो ।  

कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिने गर्ने र किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाइने उहाँको भनाइ छ । 

मन्त्री अधिकारीले विषादी मुक्त उत्पादन गर्ने कृषकलाई थप सहुलियत दिनेगरी कृषि नीतिसहित अन्य कानुनहरू संशोधनका लागि गृहकार्य अघि बढाइएको समेत बताउनुभएको छ । 

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्