अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध


 


काबुल ८ भदौ। अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले नयाँ कानून जारी गरेको हो ।

११४ पृष्ठको कानूनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले भने, ‘हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ ।’

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानूनले जनाएको छ । महिलाहरुले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटीमात्र ढाक्छ अब नयाँ कानूनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ ।

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानूनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ । महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानूनले गरेको छ ।

यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौंलाई हिरासतमा लिएको छ ।

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भने, ‘यी नियमहरू पहिले नै थिए, तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो ।’

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौं कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

त्यसैगरी सन् २०२२ मा तालिबानले महिलालाई गैरसरकारी संस्था ९एनजीओ०मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजीओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताइन् ।

‘म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा चार जनामात्रै छौं, म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहानबेलुका खान पनि समस्या छ’, उनले भनिन् ।

महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानूनले सङ्गीत बजाउन पनि निषेध गरेको छ । यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानूनले चालकहरूलाई पुरुष अभिभावकविना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो ।

तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्