‘सबै वामपन्थी एवम् माओवादी शक्तिहरू एक ठाउँमा आउने गरी वार्ता चलिरहेको छ’


 


काठमाडौँ ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउने गरी निरन्तर एकता वार्ता चलिराखेको बताउनुभयो । उहाँले यसको परिणाम छिट्टै आउने दाबी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गर्नुभयो । यसैगरी उहाँले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया समेत अगाडि बढेको जानकारी दिनुहुँदै अध्यक्ष दाहालले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नुवाकोटलाई पार्टीले सधैँ महत्व दिएको र आगामी दिनमा पनि उस्तै भूमिका दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङ लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्