गगनलाई लक्षित गर्दै रविले भने – अझै पनि सहकारी ठगेको प्रमाण दिए राजनीति छाड्छु


 


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिहरुले सहकारी प्रकरणमा आफ्नो बद्नाम गर्न खोजेको बताएका छन् ।

चितवनको राप्ती नगरपालिकाको डडुवामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको बताए।

सभापति लामिछानेले भने,‘प्रमाण छ भनेर कुर्लनेले न संसद,न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए।

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने बताए।

उनले बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। सभापति लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासहितका नेताहरुले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी संसदमै गरेका थिए ।

महामन्त्री थापाले त संसदीय समितिमार्फत आफ्नो दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्