बयानको क्रममा रविले भने – ‘समितिले सहकारी पीडितसँगै मलाई पनि न्याय दिन्छ भन्नेमा विश्वस्त छु’


 


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँगको बयानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका छन् ।

शुक्रबार राति अबेरसम्म चलेको बयानको बिट मार्दै उनले समितिको कामको प्रशंसा पनि गरे । उनले भने– ‘न्यायको खोजीमा रहेका सहकारी पीडितलाई संसदीय समितिले न्याय दिन्छ भन्नेमा विश्वस्त छु । साथै न्यायको खोजीमा रहेको म स्वयंलाई पनि समितिले न्याय दिन्छ भन्ने आस छ । ‘

बयानको क्रममा ५१ वटा प्रश्न सोधिएकोमा लामिछानेले सबै प्रश्नमा सविस्तार जवाफ दिएका थिए । उनले दिएको जवाफ जस्ताको तस्तै पेस गर्ने समेत समितिका सभापति सूर्य थापाले बताएका छन् । उनले भने, ‘उनले दिएको जवाफ जस्ताको तस्तै हामी पेस गर्छौँ । प्रतिवेदनमा लेखनमा पनि समावेश गर्छौँ । अनुसूचीमा पनि राख्छौँ ।’

प्रश्नहरूको क्रमैसँग जवाफ दिनेक्रममा उनले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको समितिका एक सदस्यले बताए ।

उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताए । लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

शुक्रबार अपराह्न करिब ४ बजेदेखि बयानका लागि सिंहदरबारस्थित समितिको बैठकमा उपस्थित लामिछानेसँग ११ बजेसँग सोधपुछ भएको थियो । बयानपछि उनी सम्बन्धित कागजातमा हस्ताक्षर गरेर निवासतर्फ फर्किएका थिए ।

प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्