गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ता टोली


 


गाजापट्टी ७ भदौ । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ ।

गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताउनुभएको छ ।

“मोसाद जासुसी निकायका प्रमुख डेभिड बार्निया र ‘सिन बेट घरेलु सुरक्षा सेवा’का प्रमुख रोनेन बार बन्धक रिहाई सम्झौता अगाडि बढाउन इजिप्टको राजधानी पुग्नुभएको छ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ओमर डोस्ट्रीले बिहीबार बताउनुभयो ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न पहल गरिरहेका छन् । 

शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले यस हप्ता मध्यपूर्वक्षेत्रको भ्रमण गरी वार्ताको पर्खाईको समय अन्तिम चरणमा पुगेको र तत्काल युद्धविराम सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेनाले वस्ती खाली गर्न दिएको आदेशपछि यस हप्ता देइर अल–बलाह र दक्षिणी सहर खान युनिसबाट दशौँ हजार नागरिकहरू विस्थापित भएका छन् ।

युद्धले गाजाको करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्