तनहुँ बस दुर्घटना : मृत्यु हुनेकाे संख्या २७ पुग्याे, ११ जनाको उपचार शिक्षण अस्पतालमा


 


काठमाडौं ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सिडिओ गौतमले भने, ‘सुरुमा १४ जनाको र पछि १३ जनाको मृत्यु भएको हो ।’

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सिडिओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगोमा लागिसकेको छैन ।

भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।
घाइते मध्ये ११ जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।

अस्पतालको आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद न्यौपानेका अनुसार तनहुँ बस दुर्घटनामा घाइते भएका ११ जना उपचारका लागि अस्पतालमा ल्याइएको हो।

एक जनाको अस्वस्था सिकिस्त रहेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“बस दुर्घटनाका घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएको छ। अहिलेसम्म यहाँ ल्याइएका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको उपचार हुँदै छ।उपचारपछि मात्र उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा भन्न सकिन्छ।”

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्