तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते


 


काठमाडौँ, ७ भदौ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।

तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जानकारी गराउनुभयाे । रायका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्