स्थानीय तहका उद्योगी तथा व्यापारीलाई कर शिक्षा


 


रुकुम पश्चिम ७ भदाै। रुकुम उद्योग वाणिज्य सङ्घले कर शिक्षा अभियान सुरु गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा रहेका  उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा दिने उद्देश्यअनुरूप सङ्घले पालिका स्तरीय कर शिक्षा अभियान सुरु गरेको हो । स्थानीय तहमा सञ्चालनमा रहेका उद्योग तथा व्यवसायहरूलाई चलायमान तथा कर सम्बन्धी शिक्षा दिने उद्देश्यले बाँफिकोट गाउँपालिकाबाट कर शिक्षा अभियान सुरु गरिएको रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।   

उहाँका अनुसार उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा प्रदान गर्न र सङ्घको आवश्यकता तथा महत्वको बारेमा थप प्रस्ट बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने छ । बाँफिकोट गाउँपालिकाबाट सुरु गरेको कर शिक्षा अभियान समय मिलाएर जिल्लाका ६ वटै स्थानीय तहका उद्योगी तथा व्यापार व्यवसायीलाई सम्म पुर्‍याउने सङ्घले जनाएको छ ।

कर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा पालिकामा सञ्चालन भएका व्यवसायलाई समयमै दर्ता तथा नवीकरण गर्न, समयमै कर तिरी महँगो करबाट बच्ने लगायतका विषयमा शिक्षा प्रदान गरिएको छ । त्यस्तै आफूले सञ्चालन गरेको व्यवसायबाट बिक्री वितरण हुने वस्तुको मूल्य सूचि उपभोक्ताले देखिने गरी अनिवार्य राख्न समेत व्यापारीहरूलाई सुझाव दिइएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्