राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित


 


काठमाडौँ ६ भदाै। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले पारित गरियोस् भनि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमा भाग लिँदै सांसदहरुले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याएर नेपाललाई शान्तिपूर्ण वातावरणमा उभ्याउन राजनीतिक दलहरू सफल भएको बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले १२ बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर पनि शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्गोमा पुर्‍याउनु ऐतिहासिक भएको विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला बेपत्ता तथा घाइते भएका र आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन अझै राजनीतिक दलहरुबीच विश्वासको वातावरण कायम हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रेष्ठले अब आयोग गठन गरेर पीडितलाई तत्काल न्याय दिन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, नेकपा एमालेका सांसद भगवती न्यौपानेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अग्रज नेताहरूले भूमिका खेलेको भन्दै विगतलाई बिर्सेर अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरी देशको आवश्यकताको आधारमा द्वन्द्वलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुषालले यो विधेयकमा भएका धाराले शान्ति प्रक्रियाका कामलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

सांसदहरु बामदेव गौतम, महमद खालिद, तुल प्रसाद विश्वकर्मा लगायतले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउन यस विधेयकले भूमिका खेल्ने भन्दै यो ऐतिहासिक भएको बताउनुभयो ।

यसअघि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ९ गते आइतबार १ः१५ बस्नेछ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्