सरकारलाई गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री ओली 


 


काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले जनतामा निराशा नुहुने र आशावादीता जगाउने गरी काम गरिरहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई कुनै गल्ती गर्ने, अन्यौल सिर्जना हुने र प्रतिफल नदिने गरी काम गर्ने छुट नरहेको बताउनुभयो । 

सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको भन्दै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिइएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी नभएको भन्दै भ्रष्टाचार नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुङ्गोमा पुर्‍याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी १० वर्षभित्र नेपालले दश हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता बमोजिम भारतमा विद्युत् निर्यातको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार गरेको बताउनुभयो ।

उहाँले कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार ५ सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिको लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यातको लागि गरी नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पु¥याउने लक्ष्यसहितको कार्ययोजना मन्त्रिपरिषद्मा पेश भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले ८ वर्षसम्म संविधान कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने भन्दै त्यसमा सरकारको मात्रै नभई संसद्को पनि आँट चाहिने र सबै मिलेर आँट गर्नुपर्ने बताउनुभयो । 

सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, सम्पन्न भएका आयोजनाहरूको भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिने, उखु, दूध उत्पादक कृषकलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम उपलब्ध गराउन उच्च प्राथमिकता दिने कार्ययोजना बनाई काम गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै विश्व विद्यालयहरूमा विश्व विद्यालय अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको जानकारी गराउनुभयो ।

उहाँले नेपालमा नै विश्व स्तरीय शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय स्थापनाको तयारी भइरहेको भन्दै विश्व विद्यालयहरूले प्राविधिक उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने तथा विश्व विद्यालयहरूलाई नयाँ विषयहरू सञ्चालन गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू समेत रहेको बताउनुभयो । 

सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले देशका कतिपय स्थानमा बाढी, पहिरो लगायतका सबै खालका प्राकृतिक विपत्तिबाट हुने क्षति वा जोखिम न्यूनीकरण गर्न र जनधनको क्षति हुन नदिन संवैधानिक र कानूनी प्रावधान बमोजिम सरकारले प्रदेश सरकार र स्थानीय तहहरूसँगको समन्वय र सहयोगमा सक्रियतापूर्वक काम गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बाबजुद पनि विपद् प्रभावितहरूको उद्धार, राहत र व्यवस्थापन गर्न स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारले काम गरिरहेको पनि बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपियाँ पनि नछाडेर उठाउने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उद्योग बन्द गरेर नभई चलाएर नै बक्यौता उठाउने बताउनुभयो ।

उहाँले सरकार र नेपाल विद्युत् प्राधिकरणबीच कुनै मतभेद नभएको पनि संसदमा स्पष्ट गर्नुभयो ।  

बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा.नारायण खड्का, एनपि साउद, नारायणी शर्मा, नारायणप्रसाद आचार्य, नैनकला थापा, पुष्पबहादुर शाह, नागिना यादव, पशुपति समशेर जबरा, निर्मला कोइराला, पदम गिरी, निशा डाँगीलगायतका १३ जना सांसदहरुले लिखित प्रश्न राख्नुभएको थियो ।

बैठकमा सांसदहरुले राख्नुभएको प्रश्न लामो भएको भन्दै सभामुख देवराज घिमिरेले व्यवस्थित गर्न र प्रश्नोत्तर कार्यक्रमलाई संक्षिप्त बनाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो  । 

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नुभयो ।

यसअघि उक्त विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई  बैठकले अस्वीकृत गरेको थियो ।

सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गरिएको विषयमा जानकारी गराउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक भदौ ११गते  मङ्गलवार बार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्